चुनावी तयारी कस्तो छ ?
मतदान गर्ने समय अव केहीदिनमात्रै छ । हामीले दाङको विकास र समृद्धिका लागि गर्ने कार्यक्रमहरुलाई पार्टीको तर्फबाट संकल्प पत्र तयार गरी मतदातासमक्ष सार्वजनिक गरिसकेका छौं । तिनै प्रतिवद्धता लिएर हामी मतदाताको घरदैलोमा पुगेका छौं । मतदातालाई भेट्ने र आफ्ना योजना सुनाउने अनि सुर्य ध्वजाबाहक उम्मेदवारलाई विजय बनाउन अपील गर्ने काम तीव्र पारेका छौं । मतदाताले पनि आफ्ना समस्या सुनाउने जिल्लाको विकास र समृद्धिका लागि हामीले खेल्नुपर्ने भूमिकाबारे सुझाव दिने काम गरिरहनुभएको छ । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक सबै यो अभियानमा जोडिनु भएको छ । एउटा उत्सवका रुपमा अभियान चलिरहेको छ ।

मतदाताले के भन्छन त ?
मतदाताहरुको कुरा पनि काम गर्ने पार्टी र उम्मेदवारलाई मत दिन्छौ भन्नु भएको छ । नेकपा एमाले जति जति बेला काम गर्ने भूमिकामा छ त्यति त्यतिबेला जनताको पक्षमा काम गरेर देखाएको पनि छ । हामीले पनि किसान, मजदुर, महिला, बालवालिका, गरिव, सिमान्तकृत, दलित,अपाङग, आदीवासी जनजातिलगायत आम वर्ग समुदायका पक्षमा काम गर्ने हाम्रो प्रतिवद्धतामा समर्थन जनाउनु भएको छ । अर्को कुरा नेकपा एमालेको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिका लागि भएका कामको सराहना गर्नु भएको छ र हामीले जनताका सानातिना समस्या, सुख दुखमा सधै जोडिदै आएको सधै जोडिरहने कुरामा प्रतिवद्धता जनाएका छौं । खासगरी समयमै मल, विउ, सिंचाई, सडक, विजुलीजस्ता आधारभूत सेवा जनताले खोजेका छन हामीले ती सबै कुरालाई पाँचवर्षभित्रै काम गर्ने प्रतिवद्धता जनाएका छौं ।

आश्वासनमात्रै त होइन नी ?
आश्वासन अरुले हो दिने । एमालेले काम गर्छ भन्ने कुरा आम मतदाताहरुलाई थाहा छ । काम गर्नका लागि एमालेका उम्मेदवारलाई जिताउने र एमालेकै सरकार बनाउने कुरामा जनता समर्थन दिइसक्नु भएको छ । मंसिर ४ पछि एमाले सरकार बन्छ र हामीले जनताका आधारभूत समस्या समाधान गर्दै जिल्लाको विकासमा देखिने गरी काम गर्ने तयारीमा छौं । एमालेले भूमिका पाउदा काम गरेर पनि देखाएको छ ।

जित्ने आधार के छ त ?
पहिलो कुरा जनता नै हुन । जनता एमालेको पक्षमा छन । एमालेप्रति जनलहर दाङमामात्रै होइन देशव्यापी छ । तपाईले देख्नु भयो होला दार्चुला, सुर्खेत, कालिकोट, चितवनलगायत पूर्वपश्चिम जताततै हाम्रो पार्टीको अध्यक्ष केपी ओली पुग्दा कस्तो जनलहर छ । देशमा कसैले काम गर्छ भने एमालेले गर्छ भन्ने कुरालाई हामीले मनमोहन अधिकारीको पालादेखि केपी ओली नेतृत्वको सरकारसम्म आइपुग्दा वृद्धभत्तादेखि गाउँमा बजेट पु¥याउने कामको सुरुवात गरेर देखायौं । चुच्चे नक्सा ल्यायौं अव गुमेको जनिम फिर्ता गर्छौ । त्यतिमात्रै होइन गुमेको लुम्विनी प्रदेशको राजधानी बुटवलबाट दाङ ल्यायौं । गाउँ गाउँमा भाइरल रोड निर्माण गरेर आउजाउमा सहजता ल्याएका छौं । अलपत्र परम्परागत दामोदरमार्गको स्तरोन्नतिको काम, जलाशय निर्माण गरेकै छौं । त्यसैले हामी नेतृत्वमा हुँदा काम गरेर देखाएका छौं । अहिले गठवन्धनको सरकार छ । किसानले मल पाएनन, व्यापारीले ऋण नपाउने अवस्था छ । जनतालाई महंगीमात्रै थुपारेको छ । किनेर खान सक्ने अवस्था छैन । त्यसैले महंगी नियन्त्रण, व्यवसाय प्रवद्र्धन, किसानलाई मललगायतका आम समस्या समाधानका लागि फेरि एमाले सरकार बनाउन जरुरी छ भन्ने कुरा जनतालाई परिसकेको छ । अर्को आधार भनेको हाम्रो बलियो पार्टी संगठन हो । एक ढिक्का भएर लागेका छौं । पार्टीप्रतिको जनलहर नै हाम्रो जितको आधार हो ।

एजेण्डा के छन त ?
हामीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा लिएका छौं । यो आकांक्षा पुरा गर्न एमालेले पाँच वर्षमा गर्ने २० ग्यारेन्टी अघि सारेको छ । दाङमा पनि हामीले राजधानी ल्यायौं अव राजधानी कार्यान्वयन गर्छौं । लुम्विनी प्रदेश राजधानी दाङमै पहिलो बैठक बसाऔछौं । अर्को कुरा जिल्लाका सडक निर्माण, सिंचाई, पर्यटन विकासका थुप्रै काम अघि सारेका छौं । त्यस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, उद्यम विकासका कामलाई पनि हामीले जिल्लाको संकल्पपत्रमै उल्लेख गरेका छौं । हामीले दाङमा २३ प्रतिज्ञा र २३५ अठोटकारुपमा सार्वजनिक गरेका छौं । हामी बनाउँछौ हाम्रो दाङ भन्ने नारा लिएर चुनावी अभियानमा छौं । यस्ता थुप्रै एजेण्डा हामीसँग छन । मुख्य गरी एमालेको सरकार बन्यो भने देशका सबै महिलालाई पाठेघरको समस्याबाट जोगाउँन महिनावारी सुरक्षा भत्ता दिने तयारी गरेका छौं । बार्षिकरुपमा स्यानेटरी प्याड किन्न हरेक महिलालाई १ हजार ५ सय भत्ता उपलव्ध गराउनेछौं । त्यसैगरी गरिव परिवारलाई जाडोयाममा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको विजुली निशुल्क उपलव्ध गराउने र हरेक घरमा धारा पुर्‍याएर निःशुल्क पानी उपलव्ध गराउने योजना ल्याएका छौं ।

मतदातालाई केही अपिल छ ?
म पनि किसान हुँ । त्यसैले किसानका समस्याबारे मलाई राम्ररी थाहा छ । किसानकै घरदैलोमा हुर्किए । त्यही काम गरे । सधै जनतासँगै रहेर सुख दुखमा जोडिए । त्यसैले जनताको समस्या समाधान गर्ने ठाउँमा पुग्नका लागि जनताको साथ सहयोग अपरिहार्य छ । तसर्थ समृद्ध नेपाल, सुखी नेपाली र समृद्ध दाङ निर्माणका लागि एमाले सरकार निर्माणमा मतदातालाई सुर्यमा मतदान गर्न अपिल गर्छु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस