महेश बस्नेत
दाङ, मंसिर १९ । विद्यार्थीहरुको शैक्षिक सुधारका लागि तीन पक्षको भूमिका महत्वपूर्ण रहने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीको १५औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय सचिव यादव गिरीले विद्यालय, अभिभावक र विद्यार्थी गरी तीन पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नसके मात्र विद्यार्थीहरुको शैक्षिक सुधार गर्न सकिने बताउनुभयो । बालबालिकाहरुमा पुस्तकहरुको अध्ययनभन्दा मोबाइलको गलत प्रयोगले शैक्षिक अवस्था झन् कमजोर हुँदै गइरहेकोप्रति प्रमुख अतिथि गिरीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले बालबालिकाहरुलाई अध्ययनका साथसाथै सिर्जनात्मक क्षमताको विकासका लागि सबै पक्षबाट वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।उक्त कार्यक्रमका विशिष्ट अतिथि वडा नं. १६ का जनप्रतिनिधि मानसिंह बुढाले शैक्षिक क्षेत्रमा ज्ञानमालाका गतिविधिहरुबाट आफु प्रभावित भएको भन्दै विद्यालयको थप प्रगतिको कामना गर्नुभयो । उहाँले बालबालिकाहरुलाई हरेक क्षेत्रमा दक्ष बनाउन शिक्षक तथा अभिभावकहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । अतिथिको आसनबाट बोल्दै प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीले विद्यालयको चर्चा गर्दै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा बालबालिकाहरुले ज्ञानमालाबाट प्राप्त गरिरहेको अवस्थामा अभिभावकहरुले सहरी क्षेत्रका विद्यालयहरु खोज्नु नपर्ने बताउनुभयो । विद्यालयहरु सबैका साझा सम्पत्ति रहेको र अभिभावकहरुको समेत लगानी रहेको हुँदा विद्यालयको शैक्षिक प्रगतिमा अभिभावकहरुले समेत भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिज बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहरी स्वास्थ्य केन्द्र करौतीडाँडाका प्रमुख राममणि शर्मा, अम्बिकेश्वरी शिक्षा सदनका प्रधानाध्यापक अमृत घर्ती मगर, विद्यालयमा गठित किशोरी समूहकी सचिव अदिती केसी, अभिभावक शारदा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक महेश बस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयको १५औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुद प्रतियोगिताका विजेता विद्यार्थी, अभिभावक तथा शिक्षकलाई पुरस्कार प्रदान गर्नुका साथै विभिन्न विधाका सर्वोत्कृष्ट अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यार्थीहरुले गीत, नृत्य तथा आफ्ना सिर्जनाहरु प्रस्तुत एवम् प्रदर्शनी गरेका थिए । शिक्षक इन्दु गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षकद्वय श्रीधर आचार्य र बिमला केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस