दाङको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको घोराहीमा रहेको गोरखा स्कुलले पछिल्लो समय गोर्खा ग्रुप स्थापना गरी जिल्लाको घोराही, तुलसीपुर, लमही र लालमटियामा पनि शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । हाल सबै स्थानका विद्यालयमा गरी यहाँ करीव ९ हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्म विज्ञान र व्यवस्थापन तर्फका कक्षा सञ्चालन गर्दै आएको विद्यालयले शैक्षिक र अतिरिक्त क्रियाकलापमा पनि आफुलाई प्रमाणित गर्दै लगेको छ ।

शिक्षा क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेका गोर्खा ग्रुपले सञ्चालन गरिरहेको गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले यही पुस १७ गते आफ्नो रजत जयन्ती भव्य रुपमा मनाउँदैछ । २५औँ वार्षिकोत्सव मनाउन लागेको अवसरमा गोर्खा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढासँग गरिएको शैक्षिक कुराकानीको सार संक्षेप ।

दाङको शिक्षा क्षेत्रमा कसरी शुरुवात गर्नुभएको थियो ?
शिक्षा क्षेत्रमा केही गरौँ भनेर थालिएको अभियान हो । यसमा हामी शिक्षाबाट समाजमा केही गर्न सकिन्छ भनेर अभियान अन्तरगत काम गरिरहेका छौँ । यसो हेर्दा सैनिकहरुबाट मात्रै काम अघि बढाइएको जस्तो देखिन्छ तर सैनिकलगायत देश तथा देशभन्दा बाहिर रहेकाहरुको समुहको समन्वयमा शिक्षामा लगानी गरेर काम गरिरहेका छौँ । जसको परिकल्पना २५ वर्ष अघि मैले गरेको हुँ ।

पहिले त गोरखा स्कुल घोराहीमा मात्रै थियो, अहिले त जिल्लाका तुलसीपुर, लमही अनि लालमटियामा पनि सञ्चालनमा छ । संस्थाले सङ्गठनात्मक रुपमा कसरी काम गरिरहेको छ ?
पहिले घोराहीमा मात्रै सञ्चालनमा रहेको गोरखा ईन्टरनेशनल पब्लिक स्कुल थियो । यसलाई सञ्चालन गर्न सीमित व्यवस्थापनबाट सम्भव थियो । शिक्षाको पहुँच जिल्लाका सबै ठाउँमा पु¥याउनुपर्छ भनेर हामीले केही नयाँ काम गर्ने योजनाका साथ तुलसीपुर, लमही र लालमटियामा शाखाका रुपमा विद्यालय खोल्यौँ, यसो गर्दा संस्थाको न्युनतम ५१ प्रतिशत र शैक्षिक क्षेत्रमा केही गर्न सकिन्छ भन्ने हुटहुटी बोकेका शैक्षिक व्यक्तिहरुबीच सहकार्य गरेर हामीले शिक्षा क्षेत्रमा केही नयाँ गरौँ भनेर लागेका छौँ । धेरै ठाउँमा विद्यालय खुलेपछि यसलाई सन्तुलित रुपमा सञ्चालन गर्न गोर्खा ग्रुपको परिकल्पना गरेका हौँ । सोही अनुरुप, अहिले गोर्खा ग्रुपले यसलाई एकीकृत रुपमा सञ्चालन गर्दै आएको छ ।

गोर्खा ग्रुपले शिक्षामा के के काम गरिरहेको छ ?
मुलतः गोर्खा ग्रुप शिक्षा क्षेत्रमा काम गर्न प्रतिबद्ध छ । हाल चारवटा स्कुल सञ्चालनमा छन्, कलेज पनि चलाएका छौँ । पोखरा युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरी कलेज थालनी भइसकेको छ । भिक्टोरिया कलेज यसैको उदाहरण हो । अब कृषि कलेज खोल्ने योजना हो ।

शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल अरु क्षेत्रमा जस्तो हँुदैन, यसमा धैर्यता र निरन्तर मेहनत चाहिन्छ, साच्चै नतिजा आउन थाल्यो है भन्ने थाहा पाउन कति समय लाग्यो ?
अँ, पक्कै पनि यो अरु क्षेत्र जस्तो होइन, यसमा हरेक दिन गरिएको कामको समीक्षा जरुरी छ । गुणस्तरीय शिक्षा प्रदान गर्न दक्ष शिक्षक, चुस्त व्यवस्थापन अनि स्पष्ट योजना चाहिन्छ । स्कुल स्थापना भएको १२ वर्षसम्मको निरन्तरको प्रयासपछि हामीले गरेको कामले १२ वर्ष नतिजा पाउन सक्यो । त्यतिबेला हामीलाई निकै हर्ष थपिएको थियो भने जिम्मेवारी पनि ।

एसएलसीसम्मको पढाईलाई प्लस टु विज्ञानसम्म पु¥यायौँ । बाहिरी विश्वास आर्जन गर्दै गयोँ, त्यसपछि हामीलाई काम गर्न थप सहज भयो । हामीले शिक्षामा लगानी गरेर देशका लागि केही गरौँ भन्ने ध्येय राखेका छौँ । धन पैसा कमाउने हाम्रो लक्ष्य होइन, पैसा कमाउन त अरु पेशा व्यवसाय पनि छन् । हामीले शिक्षा प्राप्त गर्ने सही थलो निर्माण गरेका छौँ । जसले गर्दा आज यस क्षेत्रमा हामीमाथि अभिभावकहरुको भरोसा रहेको छ ।

२०५५ सालमा स्थापना भएको गोरखा स्कुल २५ वर्षमा पुग्यो, कसरी रजत जयन्ती मनाउँदैछ ?
हामीले रजत जयन्ती साताव्यापी कार्यक्रमका साथ मनाइरहेका छौँ । जनवरी १ लाई स्थापना दिनको रुपमा लिइएकाले यो दिन हाम्रो लागि विशेष हो । अभिभावक दिवसका साथ २५ वर्षे समीक्षा गर्छाैं । किनभने जतिबेला हामीले दाङमा स्कुल स्थापना गर्दै थियौँ त्यो बेलामा शिक्षाबाट चेतना जगाउनु निकै चुनौती थियो । देशमा सशस्त्र द्वन्द्वको जगजगी थियो । शिक्षा धरासायी बनेको बेलामा हामीले यो अभियान अघि बढाउने सङ्कल्प लिएका थियो । अझ भन्ने हो भने बल्दै गरेको आगोमा हाम फालेको जस्तै थियो हाम्रा लागि ।

जहाँ समस्या त्यहाँ समाधान हुन्छ भन्ने मेरो बुझाइ छ । मेरो फिल्डले रिस्क म्यानेजमेन्ट बारे सिकाएको थियो त्यसैले त्यो बेलामा सुझबुझका साथ व्यावसायिक सक्षमता, राजनीतिक दृष्टिकोण सकारात्मक बन्दै गयो र अभियान सफल पनि भयो ।

रजत जयन्ती कसरी मनाउने तयारी भएको छ ?
जनवरी १ तारिख विद्यालयको जन्म दिन हो । फाउन्डर्स डे, अभिभावक दिवससँगै रजत जयन्ती विशेष रुपमा मनाउने तयारी भएको छ । त्यसैका लागि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । यसकै जगमा शाखा स्कुलमा पनि अतिरिक्त क्रियाकलाप भइरहेका छन् ।

तुलसीपुरले स्पोट्र्स कार्यक्रम सम्पन्न ग¥यो, घोराहीमा पनि भइरहेको छ, लमही र लालमटियामा पनि भइरहेका छन् । यही बेलामा हाम्रो वार्षिक साधारणसभा हुन्छ । स्कुलहरुको साधारणसभासँगै गोरखा ग्रुपको पनि साधारणसभा हुनेछ ।

उक्त दिन के हुन्छ ?
शिक्षक विद्यार्थीहरुको कार्यक्रम हुन्छ । अर्काेकुरा २५ वर्ष अध्यक्ष भएर सम्हाले त्यसको बारेमा धारणा राख्नेछु । यहाँसम्म ल्याउन सघाउनेलाई सम्मान हुनेछ । स्कुलका संरक्षक, प्रमुख अतिथिलगायत शैक्षिक उन्नयनमा सघाउनेलाई सम्मान हुनेछ । शिक्षाप्रेमी, शुभचिन्तक, अभिभावकहरुका सल्लाह सुझावलाई मनन् गर्ने दिनका रुपमा पनि रजत जयन्तीलाई लिएका छौँ ।

अबको योजना कस्तो छ त ?
हामीसँग विद्यार्थीको संख्या ९ हजार छ । हजारौँलाई पास आउट गरिसकेका छौँ । गोरखा स्कुलबाट पास आउट भएर जानेहरु विभिन्न क्षेत्रमा सफल भएका छन् । मेडिकल, पारामेडिकल, बैंकिङ, सेना, प्रहरी, निजामती सेवा, शिक्षालगायत धेरै क्षेत्रमा सफलता पाएका छन् । अहिले हामीले प्रदान गर्दै आएको शिक्षाको लगानीको अन्तिम प्रतिफल देशमै देखिनुपर्छ भन्ने तर्फ सोचिरहेका छौँ ।

किनभने, वर्तमान अवस्थामा युवा जनशक्ति नेपालमा खपत गराउन चुनौती छ । हामीले उत्पादन गरेको जनशक्ति बाहिरी देशमा जाँदा दुख लाग्छ । अब यो जनशक्तिलाई यही रहने गरी अघि बढ्ने गरी के गर्न सकिन्छ भनेर योजना बनाउन लागेका छौँ भने अर्काेतर्फ बाहिर कमाउन जानेलाई देशमा लगानी गर्न उत्प्रेरित गरिरहेका छौँ । जसको उदाहरण हामी बनेका छौँ ।

यो गोर्खाजहरुको मात्रै प्रयास होइन, यहाँ देश बाहिर रहेर अरु क्षेत्रमा काम गर्नेहरुको पनि लगानी छ । विदेशमा कमाएर स्वदेशमा लगानी भएको छ । यो नमुना हामीले देखाइसकेका छौँ । मसँग त अर्काे प्रोजेक्ट पनि छ । त्यसमा देशभरका ६२ जिल्लाका सेयरधनी छन् । जुन रिडी ग्रुप हो ।

अर्काेतर्फ किताबी ज्ञानले मात्रै विद्यार्थीको सिकाइ पूरा हुँदैन यसका लागि व्यावहारिक शिक्षा आवश्यक पर्छ, त्यसैले हामीले अब प्रविधि र अभ्यासलाई सार्थक बनाउन नर्सरीदेखि नयाँ ढङ्गले अघि बढाउन विज्ञसँग परामर्श गर्दै शिक्षण सिकाइ थालनी गरेका छौँ । यसमा सिपिए, सिपिआरएस विधि रहेका छन् । यो मन्टेश्वरी विधिभन्दा परिस्कृत छ । नर्सरीदेखि ५ कक्षासम्म सिपिए र ६ कक्षादेखि १२ सम्म परियोजनामा आधारित शैक्षिक क्रियाकलाप गर्दै आएका छौँ । पढाइको गुणस्तर सुधारका लागि नयाँ विधि भित्र्याउने योजना अनुरुप काम गर्दै आएको हुँदा हाम्रो बालबालिका जिल्लामा मात्रै नभई ग्लोबल्ली उपयुक्त ठहरिने गरेका छन् ।

अर्को कुरा, अभिभावकहरु सबै शिक्षित हुनुहुन्न, धनी हुनुहुन्न । सबै अभिभावकहरुको चाहना गुणस्तरीय शिक्षा सन्तानलाई दिने हुन्छ । त्यसमा सबैलाई समेट्न नसकेको दुःख लाग्छ तर धेरै हदसम्म कोशिस गरेका छौँ र छात्रवृत्ति दिएर शिक्षा प्रदान गर्दै आएका छौँ । सबैलाई हामीले समेट्न नसकेको बेला अरु ठाउँमा विद्यालयले सघाउने गर्नुभएको छ । देशको शिक्षा उकास्ने अभियानमा हामी छौँ, र यो अभियानमा सबैको रचनात्मक साथ छ ।

अबको नेतृत्व पनि तपाईंबाट नै हुने हो ?
मैले २५ वर्षसम्म निरन्तर रुपमा नेतृत्व गर्दै संस्थालाई यहाँसम्म ल्याएको छु । स्कुलको आगामि नेतृत्व साथीहरूबाट हुनुपर्छ भन्ने मेरो सोँच छ ।

म विना नै अभियान रोकिन्छ भन्ने लाग्दैन, यसका लागि अरु साथीहरू पनि तयार हुनुहुन्छ । सबै मिलेर संस्था बलियो बनाउन अघि बढ्ने हो ।

अन्त्यमा केही भन्नु छ ?
स्कुल स्थापना भएदेखि काम गर्दा सबै तह र तप्काबाट सहयोग पाएको छु, यो मेरा लागि अहोभाग्य पनि हो । जसले गर्दा दाङमा शिक्षा क्षेत्रमा अरु विद्यालय फरकपन दिँदै उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएका छौँ । विद्यार्थीहरुको आशा बनेका छौँ, अभिभावकहरुको भरोसा बनेका छौँ ।
यो अभियानमा धेरै बुद्धिजिवी, शुभचिन्तक र अभिभावकहरुको साथ छ । उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यसैगरी साथ र सहयोगको अपेक्षा छ भने समय सुहाउँदो शिक्षाका लागि हाम्रो तर्फबाट पनि पूर्ण प्रतिबद्धता छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस