घोराही, ७ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाले यही माघ २२ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता तथा संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा बसेको बैठकले माघको २२ गते तुलसीपुरमा रक्तदान कार्यक्रमसहित स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

यसैगरी प्रेस चौतारी नेपाल दाङ शाखामा स्थापना भएका अक्षयकोष तथा पुरस्कारहरु व्यवस्थापनका लागि उपाध्यक्षद्वय प्रेमबहादुर राम्जा र सुधासुमन ढकाल, कोषाध्यक्ष गोकर्ण पौडेल र सहसचिव एकराज भण्डारीसम्मिलित समिति गठन गरिएको छ । त्यस्तै बैठकले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एमालेका पोलिटव्युरो सदस्य लिला गिरीलाई बधाईसहित पार्टीबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुनुभएका मेनका पोख्रेल, आश्मा चौधरी र प्रदेशसभा सदस्यहरु सीता चौधरी र रेखा शर्मा बधाई ज्ञापन गर्दै समग्र दाङको हीतका लागि काम गर्न नेतृत्वदायी भूमिका लिन पनि अनुरोध गरेको छ ।

एमाले पोलिटव्युरो सदस्य एवम् प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीलगायत नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सम्मान गर्ने निर्णय गरिएको जिल्ला सचिव किरण गौतमले जानकारी दिनुभयो । बैठकले संगठनका सल्लाहकार रन्जिता शर्मा संगठनको लुम्बिनी प्रदेश कमिटीको सचिव र संगठनका नेता सुदर्शन रिजाल प्रदेश कमिटी सल्लाहकारमा मनोनित भएकोमा बधाई ज्ञापन गरेको छ ।

यसैगरी बैठकले त्रिभुवननगर जेसीज वर्ष २०२३ को महासचिवमा संगठनका जिल्ला सचिव किरण गौतम र कोषाध्यक्षमा साधारण सदस्य टंक रावत ‘अनन्त’ र प्रेस चौतारी नेपाल दाङका कार्यसमिति सदस्य महेश बस्‍नेत प्रतिनिधिसभा सदस्य मेनका पोख्रेलको स्वकीय सचिवमा नियुक्त हुनुभएकोमा बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकमा संगठन सुदृढीकरणसँगै आगामी कार्ययोजना लगायतका विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा, लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वनमा आएकाले राप्ती उपत्यका देउखुरीमा प्रेस चौतारी नेपालको भूमिका बढाउने सन्दर्भमा पनि वृहत छलफल भएको छ । यसैगरी, संगठनलाई थप बलियो बनाउन पालिका तहसम्मका संगठनलाई चलायमान बनाउन योजनाबद्ध रुपमा कार्यक्रम गर्दै लैजाने तयारी भएको छ ।

बैठकमा प्रेस चौतारी प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेत, प्रेस चौतारीका जिल्ला इन्चार्ज गणेश आचार्य, केन्द्रीय सदस्य सन्तोष दहित, सन्तोष कुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस