महेश बस्नेत
दाङ, माघ २० । ज्ञानमाला एकेडेमी घोराही १६ सर्राका विद्यार्थीहरुले घोराही उपमहानगरपालिका ३ कुहिरेपानीस्थित प्रेरणाका लागि अभियान नेपाललाई एक कार्यक्रमका बिच आज खाद्यान्न सहयोग गरेका छन् ।

विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलका अध्यक्ष जगत डाँगीको अध्यक्षता तथा प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधर कुमार लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेत तथा क्लबहरुका पदाधिकारीहरुले प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधर कुमार लम्साल र सचिव गुनाकर भुसाललाई १ क्‍विन्टल चामल, दश किलो दाल, दश लिटर तेल, आठ पोका नुन र एक किलो बेसार हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि लम्सालले ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुको मानव सेवातर्फको सकारात्मक सोचप्रति उच्च सम्मान गर्दै विद्यार्थीहरुलाई सामाजिक कार्य तथा मानविय सेवामा लाग्न उत्प्रेरित गर्नुभयो । अनावश्यकरुपमा गरिने फजुल खर्चलाई कटौती गर्दै र आफुमा रहेको रकमको केहि अंशलाई बचत गर्दै मानवीय सेवामा खर्च गर्न लम्सालले आग्रह गर्नुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै लम्सालले विद्यार्थीहरुलाई आफ्नो संस्थाको स्थापना, गतिविधि र उद्देश्यका बारेमा प्रस्ट्याउदैँ घर वा समाजमा दबाइएका मानसिक रोगीहरुलाई यस संस्थाको सम्पर्कमा ल्याई मानवीय कार्य गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रमका अर्का वक्ता प्रेरणाका लागि अभियान नेपालका सचिव गुणाधर भुसालले मानसिक सन्तुलन गुमाउन पुगेका मानवहरुको आश्रय र उपचार केन्द्रकै रुपमा रहेको उक्त संस्थाले हालसम्म ७४ जनालाई मानसिकरुपमा स्वस्थ बनाई परिवारको जिम्मा लगाइसकेको र हाल ५ जनाको संरक्षण गरिरहेको बताउनु भयो । उहाँले  शहरी क्षेत्रबाट टाढा रहेको संस्थालाई पर्याप्त सहयोगको अभाव रहेको अवस्थामा ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुको संस्थाप्रति चासो र सहयोगप्रति आभार प्रकट गर्नुभयो ।विद्यालयका प्रिन्सिपल महेश बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विद्यालयको समन्वयमा ज्ञानमालाका विद्यार्थीहरुले विभिन्न संघसंस्थाहरुमा रहेका असहाय, बृद्धबृद्धा, गरिब बालबालिकाहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । प्रिन्सिपल बस्नेतले सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्ने विद्यार्थीहरुबाट प्रशासनसमक्ष प्रस्ताव आउने र विद्यार्थीहरुलाई सोहि अनुरुप समन्वय गर्ने गरेको बताउनु भयो । कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले कक्षामा नियमहरु बनाएको र नियम उल्लङ्घन गर्ने विद्यार्थीहरुलाई कारबाही स्वरुप ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म जरिवाना गरि संकलित रकमलाई विद्यार्थीहरुले सामाजिक क्षेत्रमा खर्च गर्नेगरि यसपटक प्रेरणाका लागि अभियान नेपाललाई छनौट गरिएको बस्नेतले बताउनुभयो । विद्यालयले विद्यालयमा क्लबहरु गठन गरेको र ति क्लबहरुको अग्रसरतामा अतिरिक्त क्रियाकलापहरु पनि विद्यालयमा सञ्चालन हुँदै आइरहेको प्रिन्सिपल बस्नेतले उल्लेख गर्नु भयो ।

विद्यालयमा गठित सिर्जनशिल बाल क्लब, नेपाल जुनियर रेडक्रस सर्कल र किशोरी समुहको संयुक्त आयोजना तथा विद्यालयको समन्वयमा सञ्चालित कार्यक्रममा कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले संसथाका सञ्चालकहरुसँग थप अन्तक्रिया गरेका थिए । सिर्जनशील बाल क्लबका सह–सचिव मनिष गुस्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण किशोरी समुहकी सचिव अदिती केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस