दाङ, २९ माघ । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा ९माओवादी० ले जनयुद्ध शुरु गरेको थियो। जनयुद्ध दिवसको दिन पारेर कर्णाली र बागमती प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरेका थिए।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।

त्यसैगरी प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारद्वारा २०७८ चैत्र २१ गते प्रकाशित राजपत्रमा प्रदेश स्थापना दिवसका अवसरमा बिदा उल्लेख छ । त्यस्तै गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस