घोराही, ९ फागुन । नेपाल निजामती कर्मचारी संगठन दाङले संगठनमा आवद्ध भई लामो समय योगदान दिनुभएका तत्कालीन भूमिसुधार कार्यालय दाङका नायवसुब्बा भोजराज पौडेललाई सम्मान गर्ने भएको छ ।

संगठन दाङका अध्यक्ष शेरबहादुर केसीका अनुसार, २०४८ सालको ५६ दिने आन्दोलनमा सहभागी भई आन्दोलनको अग्रमोर्चामा खटिएका कारण सेवाबाट बर्खास्त तत्कालीन भूमिसुधार कार्यालय दाङका नायवसुब्बा पौडेललाई यही फागुन १३ गते एक समारोहका बीच सम्मान गरिने भएको हो ।

उक्त दिन मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सांसदहरुलाई समेत स्वागत तथा सम्मान गरिने कार्यक्रम रहेको छ । १३ गते बाह्रकुने दहमा हुन लागेको कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई सम्मान गरिनुका साथै निजामती सेवामा प्रवेश गरी संगठनमा आबद्ध भएका नव प्रवेशी सदस्यहरुलाई पनि स्वागत गरिने भएको छ ।

यसैगरी, निजामती सेवामा आवद्ध भई लामो समय सेवा गरी सेवा निवृत्त हुनुभएका संगठनका अग्रजलाई योगदानको कदरसहित विदाई गरिने कार्यक्रम पनि रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी संगठन दाङमा हाल साढे पाँच सय बढी सदस्य रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस