घोराही, फागुन २१ । प्याब्सन घोराही नगर कमिटीको आयोजनामा निबन्ध प्रतियोगिता तथा प्रधानाध्यापक भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । घोराही १७ चौघेरास्थित मनकामना इङ्लिस सेकन्डरी स्कुलमा सम्पन्न भएको हो । प्याब्सन घोराही नगर कमिटी अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षता एवं प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापा विशिष्ट अतिथि रहनुभएको थियो ।
निम्न माध्यामिक तह र माध्यमिक तहस्तरीय निबन्ध प्रतियोगितामा २४ विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी भएका निबन्धहरु निर्णायक समितिले अध्ययन गरी नतिजा सार्वजनिक गरिने प्याब्सन घोराही नगर कमिटीले जनाएको छ । नगर कमिटीका उपाध्यक्ष सूर्य रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गर्नुभएको थियो ।
सोही अवसरमा प्याब्सन घोराही नगर कमिटीको आयोजनामा प्याब्सनमा आबद्ध निजी विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न भएको थियो । भेलामा वार्षिक परीक्षा, नयाँ शैक्षिक सत्र, शैक्षिक क्यालेन्डर निर्माणमा एकरुपता लगायतका विषयहरुमा छलफल गरिएको थियो ।












