दाङ, ३ चैत । २०४६ सालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरुले चैत ३ गतेको संझना गरेका छन् । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले प्रजातन्त्र पुनःस्थापनाका लागि खेलेको भूमिकाको सँझना गरेको हो । २०४६ साल चैत ३ गतेका दिन साहित्यकारहरुले व्यवस्थाको विरोधमा सडकमा आएर राजनीतिक आन्दोलनलाई अघि बढाउनका लागि योगदान गरेको सँझनामा हरेक बर्ष चैतको ३ गते लेखक दिवस मनाउने गरिन्छ ।

प्रगतिशील लेखक संघ नेपाल दाङका अध्यक्ष भुवन देवकोटको अध्यक्षता एवं प्रलेस केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा शुक्रबार घोराहीमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै शर्माले साहित्यकारहरुले सत्ताको गडवडी विरुद्ध जहिले पनि खवरदारी गरिरहनुपर्ने बताउनुभयो । उहाँले राणाशासनको विरुद्धमा लेखनीका माध्यमबाट खवरदारी गरेका साहित्यकारहरु पंचायती व्यवस्थाको विरुद्ध सडकमा आएर संघर्ष गरेको बताउनुभयो ।

२०४६ साल चैत ३ गतेका दिन युद्धप्रसाद मिश्र, पारीजात सत्यमोहन जोशी, शक्ति लम्साल, आनन्ददेव भट्ट लगायत करिव दुई सय साहित्यकारहरु एकसाथ विरोधमा आएको स्मरण गर्दै शर्माले पंचायती व्यवस्था विरोधी आन्दोलनमा बामपन्थी र प्रजातान्त्रिक आस्थाका लेखकहरु एक साथ सडकमा आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासीले चैत ३ गतेको दिन साहित्यकारहरुका लागि मात्रै नभएर नेपालको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक दिन भएको चर्चा गर्नुभयो । उहाँले राजनीतिक दलहरुले गरेको आन्दोलनमा उभार नआइरहेको अवस्थामा साहित्यकारहरु सडकमा आएपछि आन्दोलनको रुप नै परिवर्तन भएको बताउनुभयो । लेखक कलाकारहरु सडकमा आएपछि राज्य संचालकहरु डराएको भन्दै उदासीले पंचायती व्यवस्थाको विरुद्धमा लेखक साहित्यकारहरुले गरेको संघर्ष र योगदानलाई भुल्न नहुने चर्चा गर्नुभयो ।

उहाँले बामपन्थी र प्रजातान्त्रिक शक्तिहरु मिलेर पंचायती व्यवस्थाको विरोधमा लागेको भएपनि त्यो आन्दोलनमा जन सहभागिता नबढिरहेको अवस्थामा साहित्यकारको सहभागिताले आन्दोलनमा ऊर्जा थपेको बताउनुभयो । लेखक, साहित्यकारहरुसंग शासकहरु डराउने गरेको उहाँको धारणा थियो ।

कार्यक्रममा प्रलेस दाङका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले नेपालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरुलाई राजनीतिक नेतृत्वले भूल्ने गरेको बताउनुभयो । उहाँले साहित्यकारहरुले दवाव र जागरणको अभियानलाई सधै अघि बढाइरहनुपर्ने बताउनुभयो ।

यस्तै राप्ती साहित्य परिषदका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेस दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, साहित्यकार तथा पत्रकार शारदा शर्मा, सुशीला आचार्य र रञ्जिता अधिकारीले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सचिव डिल्ली बस्नेत संगीतले गर्नुभएको थियो ।

प्रलेसले पारीजात र कृष्ण सेनलाई सँझने
यसैबीच प्रलेस दाङको शुक्रबार घोराहीमा बसेको बैठकले आगामी बैशाखमा प्रगतिवादी साहित्यकार पारिजातको सँझनामा तुलसीपुरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रमका लागि सचिव डिल्ली बस्नेत संगीतलाई संयोजनको जिम्मेवारी दिइएको छ । यस्तै साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी जेठमा कार्यक्रम गर्ने र सो कार्यक्रमको संयोजकका रुपमा उपाध्यक्ष रेशम विसीलाई चयन गरिएको छ ।

बैठक प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता एवं केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बसेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस