विमल योगी
दाङ, १५ चैत । घोराही उप–महानगरपालिकाले आगामी शैक्षिकसत्रदेखि विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ । सरकारी तथा निजी विद्यालयले भर्ना गर्दा जन्मदर्ता नखोज्दा धेरै बालबालिकाको जन्मदर्ता नहुने भएकाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिइएको हो ।

घोराही उप–महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा घोराही ७ साँैडियारमा मंगलबार आयोजित व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । यसका लागि घोराही उप–महानगरपालिकाले सबै सरकारी तथा निजी विद्यालयलाई परिपत्र गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घिमिरेले ३५ दिनभित्रै जन्मदर्ता गराउने र सुरक्षित प्रसूति सेवा लिनका लागि उपमेयर खुत्रुके बचत कार्यक्रम मार्फत एक हजार रुपैयाँ प्रोत्साहन दिने गरिएको भन्दै व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी अभियान सफल बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख दिवाकर योगीले जन्मदर्ता ३५ दिनभित्रै गर्ने, विद्यालय भर्नामा जन्मदर्ता अनिवार्य बनाउने, बहुबिवाह र बालविवाहलाई शून्यमा झार्ने, बसाइसराइ गर्दा अनिवार्य घटना दर्ता गरेर मात्रै गर्ने, दोहोरो घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई शून्यमा झार्ने, सामाजिक सुरक्षा भत्ताको दर्ता, नवीकरण, लगत कट्टा, बैंक खाता सञ्चालन लगायतका विषयमा जानकारी दिनुभएको थियो ।

शाखाका एम.आई.एस. अपरेटर विराज अधिकारीले सहजीकरण गरेको कार्यक्रम समापनका अवसरमा मावि साँैडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, महिला स्वास्थ्य स्वयंसेविका अस्मिता अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षक, वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत ३० जनाको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस