देउखुरी, २० चैत । राजपुर गाउँपालिकाभित्र रहेका खोला तथा नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । स्थानीय तहको निगरानी गर्ने जिम्मेवारी रहे पनि अवैध काम भइरहँदा पनि ध्यान नदिएको आरोप लागेको छ ।

गाउँपालिकामा क्रियाशील राजनीतिक दलको तर्फबाट डेलिगेसन गएर ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका अध्यक्ष हेमकुमार जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले राप्ती नदी र अन्य खोलाहरुमा जथाभावी उत्खनन् भइरहेको छ । दलको तर्फबाट स्थलगत अनुगमन गर्दा तोकिएको भन्दा धेरै उत्खनन् गरिएको पाइएको उहाँले बताउनुभयो ।

‘निकाल्न पाउने ५० मिटर चौडाई, ४५० मिटर लम्बाई र ८० सेन्टिमिटर गहिराइ हो । तर, यहाँ २५० मिटर लम्बाई, ५० मिटर चौडाई, २.५ देखी ३ मिटर गहराइका ३ वटा खाडल बनाएर उत्खनन् भइरहेको छ’ उहाँले भन्नुभयो, ‘उत्खनन्मा तीन वटा जेसिवी प्रयोग भएका छन् । उठाउन पाउने परिणामभन्दा बढी उठाइसकेका छन् ।’राजपुर गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरुको सर्वदलीय बैठकले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न माग गरेको छ । साथै बैठकले पालिकाले सेवाग्राहीबाट लिने राजश्वको दस्तुर वस्तुवादी नभएको भन्दै राजपुर गाउँपालिकाको ध्यानाकर्षण गराउने साथै मंगलबार गाउँपालिकामा समसामायिक समस्याको ध्यानाकर्षण गराउन डेलिगेसन जाने निर्णय गरेको छ ।

नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका इन्चार्ज चक्रबहादुर खड्का, राप्रपा क्षेत्र नं. १ का उपाध्यक्ष ऋषिराम घिमिरे, जनमत पार्टीका सचिव गयाप्रसाद यादव, राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष राजकुमार विश्वकर्मा, नेकपा एमालेका जिल्ला सल्लाहकार गोविन्द विक, राट्रिय जनमोर्चाका जिल्ला सदस्य रामफकिरे रैदास, माओवादी केन्द्र वडा नं. २ का इन्चार्ज दुर्गाप्रसाद शर्मा, नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका सचिव अम्मरराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस