घोराही । अनेरास्ववियु दाङले विद्यार्थीलाई बलात्कार गर्ने शिवशक्ति मावि धनौरीका शिक्षकमाथि तत्काल कारवाहीको माग गरेको छ । आज विहीवार दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई ज्ञापनपत्र बुझाउदै ३५ वर्षीय शिक्षक खुमानन्द पौडेललाई तत्काल पक्राउ गरी कारवाही अघि बढाउन अनेरास्ववियुले माग गरेको हो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष गोविन्द बस्नेतको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले घटनालाई वेवास्ता गरे अनेरास्ववियु चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । छात्रावासमा रहेकी बालिकालाई शान्तिनगर–७ धनौरी स्थित शिवशक्ति माविमा चैत २० गते शिक्षक खुमानन्द पौडेलले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

आरोपित फरार भएकाले तत्काल पक्राउ गरी अनुसन्धान थाल्न र विद्यार्थीलाई न्याय दिन अनेरास्ववियुले माग गरेको छ । प्रमुख जिल्ला अधिकारी वैद्यले घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने प्रतिवद्धता जनाउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस