दाङ, ४ वैशाख । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि त्रिभुवननगर जेसीजले अटो चालकहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले अटो व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको थियो ।
त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिनको कार्यक्रमअन्तर्गत घोराही क्षेत्रमा रहेका अटो चालकहरुलाई भेला गराई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा रुट पर्मिट, यात्रु क्षमता, अटोको गति, अटो मोड्दा हुने लापरबाही लगायत समग्र ट्राफिक नियमबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत मोहनसिंह सुनारले आफ्नो रुट अनुहार अटो चलाउन आग्रह गर्नुभयो । पालिकाका अटोहरु दर्ता नहुँदा व्यवस्थापनमा समस्या आएको भन्दै उहाँले अटोका कारण आवतजावतमा सहजता भए पनि व्यवस्थापनमा कठिनाइ भएको धारणा राख्नुभयो ।
कार्यक्रममा अटो व्यवसायीहरु चन्द्रबहादुर देउहान र तिलकबहादुर थापा मगरले आफ्ना समस्याहरु राख्नुभएको थियो । अटो पार्किङका लागि व्यवस्थित स्थान नभएको भन्दै त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न समेत व्यवसायीहरुको माग थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका उत्तम जिसी, टेकबहादुर कुसारी, दाङभ्याली यातायात प्रालिका वेदबहादुर वली, लाली गुराँस टेम्पो यातायात प्रालिका लोकमणि रेग्मीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा १ सय बढी अटोहरुमा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक सन्देशसहितका स्टिकर टाँसिएको थियो । प्रशिक्षण पश्चात जेसीज सचिवालयबाट तुलसीपुर चोकसम्म अटोसहितको ¥याली निकालिएको थियो ।
त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकमा प्रेमलाल न्यौपाने रहनुभएको थियो । कृष्णदेव थापाको आस्थापाठबाट सुरु भएको कार्यक्रममा सप्ताहका मूल संयोजक अमर अधिकारीले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव किरण गौतमले गर्नुभएको थियो ।












