दाङ, २३ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका महासचिव नरेश रोकायले संस्थागत विद्यालयमा दश प्रतिशत छात्रवृत्ति कार्यान्वयन भएनभएको अनेरास्ववियुले अनुगमन गर्ने बताउनु भएको छ ।
अनेरास्ववियु दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई स्वागत सम्मान एवं प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव रोकायले संस्थागत विद्यालयले लक्षित वर्गलाई छात्रवृत्ति नदिएको आरोप लगाउनुभयो ।

महासचिव रोकायले संस्थागत विद्यालयमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने ऐनको कार्यान्वयन हुन नसकेको भन्दै अनेरास्ववियुले देशभर अभियानकै रुपमा विद्यालयको अनुगमन गर्ने बताउनुभयो । सामाजिक उत्तरदायित्वको विषय देखावटीमात्रै भएको उल्लेख गर्दै उहाँले गरिव, जेहेन्दार, विपन्नहरुलाई संस्थागत विद्यालयमा पठनपाठनको व्यवस्था भए नभएको अनुगमन गर्न अनेरास्ववियुले अभियान नै सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै महासचिव रोकायले शैक्षिक सुधारका लागि विश्वविद्यालयका पदाधिकारी खुला प्रतिष्पर्धाबाट गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालय जस्ता प्राज्ञिक ठाउँमा राजनीतिक भागवण्डाबाट नेतृत्व ल्याउने काम भइरहेको भन्दै खुला प्रतिष्पर्धा गराएर विश्वविद्यालयको नेतृत्व ल्याउनुपनेमा जोड दिनुभयो ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथी नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले शैक्षिक वेथितिविरुद्ध उत्रिन विद्यार्थीहरुलाई निर्देशन दिनुभयो । अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, एमाले तुलसीपुर नगर अध्यक्ष माधव वली, सचिव रुपबहादुर खत्री, अनेरास्ववियुका केन्द्रीय सदस्य

सर्जन परियार, पूर्व केन्द्रीय सदस्य अभिषेक बुढामगर, युवा संघका पूर्व केन्द्रीय सदस्य सुरेश रावतलगायतले नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । संगठनका उपाध्यक्ष बसन्त भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण गिरीले गर्नुभएको थियो ।

दाङका विभिन्न क्याम्पसमा अनेरास्ववियुबाट पदाधिकारी र सदस्यहरुमा स्वयुवियुमा ७८ जना निर्वाचित भएका छन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस