दाङ, २४ जेठ । पूर्व राज्यमन्त्री तथा एमाले नेता महेश चौधरीको निधन भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा चौधरीको आज दिउँसो निधन भएको हो ।

हर्नियाबाट पीडित चौधरीको हालै काठमाडौँमा शल्यक्रिया भएकोमा पुनः समस्या देखिएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा उहाँको निधन भएको हो ।

चौधरीको निधनप्रति नेकपा (एमाले) दाङले दुःख व्यक्त गरेको छ । जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीद्वारा जारी विज्ञप्तिमा ‘आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेताहरुमध्ये अग्रणी रहनुभएका कमरेड चौधरीको निधनबाट पाको नेता, अनुभवी अभिभावक र प्रतिबद्ध नेता हाम्रो पार्टीले गुमाएको छ’ उल्लेख गरिएको छ ।

चौधरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बेलुका ६ बजे नेकपा (एमाले) पार्टी कार्यालय घोराहीमा राखिने नेकपा (एमाले) दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली पश्चात् दंगीशरण गाउँपालिका ४ बैबाङस्थित बबई घाटमा भोलि जेठ २५ गते बिहान ८ बजे अन्त्येष्टि गरिने उहाँले बताउनुभयो ।

२०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री भएका चौधरी नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस