दाङ, २५ जेठ । भ्रष्ट्राचार बिरुद्ध दोस्रो लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनको तयारी पूरा भएसँगै लुम्बिनी सरकारका प्रवक्ता, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा दाङको लमहीमा जेष्ठ २६ गते बिहान १० बजे सम्मेलनको उद्घाटन हुने भएको छ ।

यस अघि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रदेशस्तरीय सम्मेलन सम्पन्न गरिसकेको भ्रष्ट्राचार बिरुद्ध क्रियाशील संस्था बास नेपालको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । बास नेपाल लुम्बिनी प्रदेश संयोजक खेम बिष्टले प्रदेश सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट युवाहरुको उल्लेख्य सहभागिता रहने बताउनुभयो । दाङकोलमही स्थित लमही नगरपालिकाको सभाहलमा हुने सम्मेलनमा प्रदेशका सबै जिल्लाहरुबाट झण्डै २०० बढी युवाहरुको सहभागिता रहने गरी तयारी गरिएको संयोजक बिष्टले जानकारी दिनुभयो ।

देशमा ब्याप्त भ्रष्ट्राचार, व्यतिथि, ढिलासुस्तीले प्रश्रय पाइरहेका बेला भ्रष्टाचार बिरुद्ध युवा आवज प्रवाह गर्न सम्मेलन उपयोगी हुने बताइएको छ । सम्मेलनमा प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सरोकारवालाहरुसँगै युवाहरुको सहभागिता रहने र सम्मेलनमा भ्रष्टाचार बिरुद्धको अभियान र भूमिका लगायतका विषयमा बृहत छलफल गर्ने कार्ययोजना रहेको छ ।

सम्मेलनको अन्त्यमा भ्रष्टाचार बिरुद्ध लुम्बिनी घोषणा पत्र जारी गरी सम्मेलन समापन गरिनेछ । भ्रष्टाचार बिरुद्ध देशका ७७ ओटै जिल्लाहरुमा शाखा बिस्तार गरि काम गर्दै आएको बासले देशका सबै प्रदेशमा सम्मेलन आयोजना गर्ने योजना बनाएको छ । भ्रष्टाचारको अन्त्य भएमा मात्रै सभ्य समाजको निर्माण हुने विश्वास राख्दै भ्रष्ट्राचार बिरुद्धको सम्मेलनमा युवा लगायत आम नागरिकको स्वस्फूर्त सहभागिता तथा ऐक्यबद्धता रहने जनाएको छ ।

भ्रष्टाचार बिरुद्ध लुम्बिनी प्रदेशस्तरीय दोस्रो युवा सम्मेलनमा युवाहरुसँगै आम नागरिकहरुलाई जेष्ठ २६ गते बिहान १० बजे लमही नगरपालिकाको सभाहलमा सहभागिता जनाउन समेत बासले सार्वजनिक अपिल गरेको छ । सम्मेलन बास नेपाल लुम्बिनी प्रदेश समिति र असल शासन मिडियाको आयोजना, लुम्बिनी प्रदेश सरकार, प्लान इन्टरनेशनल नेपाल, बिग्रुप नेपालगन्ज, ईन्रुडेक बाँके र राष्ट्रिय अपाङ्ग महासँघ नेपालको सहयोग तथा सहकार्यमा हुने भएको छ ।

भ्रष्टाचार बिरुद्धको प्रथम राष्ट्रिय युवा सम्मेलन २०६९ असोज २६ गते, दोश्रो राष्ट्रिय युवा सम्मेलन २०७२ फाल्गुन ६ गते, तेस्रो राष्ट्रिय युवा सम्मेलन २०७३ चैत्र २६ गते, चौथो राष्ट्रिय युवा सम्मेलन २०७५ चैत्र १ गते, पाँचौं राष्ट्रिय युवा सम्मेलन २०७८ चैत्र १८ गते नेपालगञ्जमा सम्पन्न भएको थियो, यसैगरी सुदुरपश्चिम प्रदेश स्तरीय प्रथम युवा सम्मेलन भाद्र २५ गते प्रदेश राजधानी धनगढीमा र भ्रष्टाचार बिरुद्ध कर्णाली प्रदेश स्तरिय युवा सम्मेलन २०७९ साउन २० गते कर्णाली प्रदेशको सदरमुकाम बिरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको थियो भने भ्रष्टाचार बिरुद्ध लुम्विनी युवा सम्मेलन नेपालगञ्जमा यस अघि सम्पन्न भइसकेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस