गोकर्ण पौडेल

तुलसीपुर, १५ असार । सधैँ झोलाभरि किताब लिएर क्याम्पसमा पढ्ने जाने विद्यार्थी आज भने फरक दृश्यमा देखिए । सधैँ कलम हुने हातमा आज भने रोप्नका लागि विद्यार्थीका हातमा धानका ब्याड थिए । मेट्रो कलेजका कृषि विषय पढ्ने विद्यार्थीहरु तुलसीपुर १८ बकुलाहीका किसान जितबहादुर चौधरीको खेतमा धान रोप्न पुगेका थिए । रोप्नका लागि ठिक्क पारिएको खेतमा विद्यार्थी जब मेलो सार्नका लागि धानको ब्याड लिएर खेतमा पसे अनि जितबहादुर निकै खुसी देखिनुहुन्थ्यो ।

कृषि विषय पढिरहेका विद्यार्थी सन्दीप मल्ल्ले किताबमा पढेको कुरा किसानलाई बाँडेको र किसानबाटसमेत व्यवहारिक ज्ञान हासिल गरेको बताउनुभयो । उहाँले कृषि पढ्ने विद्यार्थीले माटोलाई चिन्न सक्नुपर्ने समेत बताउनुभयो । हिलाम्य भएर रोपाइ गरिरहेकी अर्की विद्यार्थी स्पन्दन भुषालले माटोमै टेकेर व्यवहारिक ढँगले पढ्न पाउँदा खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले कक्षामा हरेक दिन पढिरहेका हुन्छौ तर यसरी खेतमै आएर माटो टेक्दै पढ्न पाउँदा धेरै कुरा सिकेको अनुभूति भयो ।’

विद्यार्थीसँगै धान रोप्न पुगेका नगरप्रमुख टीकाराम खड्काले माटो चिन्ने र माटोलाई माया गर्ने व्यक्तिलाई कहिल्यै दुःख नपर्ने बताउनुभयो । उहाँले कृषिलाई प्राथमिकता दिएर नीति तथा बजेटको व्यवस्थापन गरिएको बताउनुभयो । अर्थ समितिका संयोजक माधव वलीले रैथाने प्रजातिका धानको उत्पादन बढाउन र बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

कलेजका प्रमुख वसन्त आचार्यले कृषि पढिरहेका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै अभियानमा सामेल गर्दै आएकोमा धान दिवसका दिन किसानसँगै जोडेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका साथै अनुभवबाट तिखारिएका किसानका सीप सिकाउनका लागि समेत खेतमा विद्यार्थीहरुलाई किसानसंगै रोप्नका लागि लगेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस