गोकर्ण पौडेल

तुलसीपुर, १६ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन औँलामा सीमित व्यक्तिलाई मात्रै आउँछ । त्यही औँलामा गनिने संख्या बढाउने अभियानमा प्रदेश सरकार रहेको छ । लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयले संकटको पेशा बचाउने अभियानमा रहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संकटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो । उहाँले गन्धर्व समुदायको संकटमा परेको पेशा बचाउने दायित्व सरकारको भएको बताउनुभयो । नगरप्रमुख खड्काले राष्ट्रिय बाजाकारुपमा रहेको सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्धन गरेर व्यवसायीकरुपमा अघि बढाउन सकिने बताउनुभयो । उहाँले मौलिक संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्ता माझ पुर्‍याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवर्द्धन गरेको छ ।त्यही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका मध्येका एक हुनुहुन्छ ७० वर्षिय शालिकग्राम गन्धर्व । उहाँलाई यो पेशा नै कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता छ । शालिकग्राम भन्नुहुन्छ – ‘सारङ्गी बाजामा चार वटा तार र त्यसबाट ३६ वटा स्वर निकाल्न सकिन्छ यसमा त राष्ट्रियता पो झल्किन्छ ।’ बाजा बनाउनेका लागि सीप सिकाउँदै आउनुभएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटो आवश्यक सारङ्गी बनाउन सकिने बताउनुहुन्छ । उहाँले सीप सिकाउँदै २५ वटा सारङ्गी तयार पार्नुभएको छ । उहाँहरूले बनाएका सारङ्गीको बजार मूल्य पाँचदेखि ३५ हजार रहेको छ । एउटा सारङ्गी पाँच दिनसम्म बनाउन सकिने गणेश गन्धर्व बताउनुहुन्छ । उहाँले भन्नुभयो –’राज्यकातर्फबाट सीप प्रवर्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै संकटको सारङ्गी बचाउन सकिन्छ ।’

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा सारङ्गी बाजाका लागि संगीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्धन गरिएको बताउनुभयो । उहाँले उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने बताउनुभयो । उहाँले सारङ्गी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिने बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस