घोराही, २९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी रेग्मी परिवारले ऋषिराम रेग्मीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष घोषणा गरेको छ । स्व. रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ लोकार्पणका अवसरमा रेग्मी परिवारले पुरस्कारका लागि अक्षयकोषको घोषणा गरेको हो ।

रेग्मीका जेष्ठ सुपुत्र बामदेव रेग्मी र कनिष्ठ सुपुत्र सन्तोष रेग्मीलगायत परिवारका सदस्यहरुले स्थापना गरेको पुरस्कार दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापना गरिएको छ । हरेक वर्ष रेग्मीको निधन भएको असार २९ गतेका दिन वितरण गर्ने गरेर साहित्यकारलाई पुरस्कार दिइनेछ । पुरस्कार वितरणका लागि कार्यविधि बनाइने प्रतिष्ठानले जनाएको छ । दाङ जिल्लामा स्थापना भएकामध्ये यो सबैभन्दा ठुलो राशीको अक्षयकोषका रुपमा रहेको छ ।

शुक्रबार घोराही १० फन भ्यालीमा आयोजना गरिएको कार्यक्रममा ऋषिराम रेग्मीको स्मृतिग्रन्थ र रेग्मीले रचना गर्नुभएका कविता र गीतको संग्रह विमोचन गरिएको थियो । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज शर्मा श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा रेग्मीले साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको थियो ।

सो अवसरमा लोकार्पण गरिएको स्मृतिग्रन्थको चर्चा डा. हिमलाल पन्थीले गर्नुभएको थियो । कार्यक्रममा डा. शिवकुमार आचार्य, प्रा. लेखनाथ आचार्य, रेग्मीका बालसखा धर्मबहादुर बैरागी, साहित्यकारहरु नवराज रजौरे, पुरुषोत्तम खनाल, पद्मप्रसाद शर्मा, जानका रेग्मी, कमलमणि देवकोटा, खगराज न्यौपाने, खुमानन्द अधिकारी, उत्तमकृष्ण मजगैयाँलगायतले बोल्नुभएको थियो ।

बलदेव रजौरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डिल्लीराज रेग्मीले गर्नुभएको थियो । सोही अवसरमा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरिएको थियो । साहित्यकार कमलमणि देवकोटाले भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्‍याएको योगदानका बारेमा बोल्नुभएको थियो ।

१९९९ साल कात्तिकको लक्ष्मीपूजाका दिन जन्मनुभएका ऋषिराम रेग्मीको निधन २०७७ साल असारको २९ गते भानु जयन्तीका दिन भएको थियो । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका रेग्मी नेपाल संस्कृत विश्व विद्यालयमा लामो समय काम गर्नुभएको थियो । नेपाली र संस्कृत साहित्यमा राम्रो दख्खल राख्ने रेग्मी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुुन्थ्यो । उहाँका कृतिहरु प्रकाशित नभएको भए पनि दर्जनौ लेख रचना प्रकाशित छन् । उहाँको पहिलो कृतिका रुपमा कविता र गीत संग्रह प्रकाशित भएको छ । परिवारका सदस्यहरुका अनुसार उहाँले लेखेका पाण्डुलिपीहरु रहेका छन् ।

रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थमा ५१ वटा लेख रचनाहरु रहेका छन् । उहाँले लेख्नुभएको भाषाशास्त्र र यसको विकासक्रम विषयको लेख पनि प्रकाशित छ । ऋषिरामले पुर्‍याउनुभएको योगदानको चर्चा स्मृतिग्रन्थमा गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस