दाङ, १७ भदौ । त्रिभुवननगर जेसीज दाङले पहाडी विकट बस्ती बंगलाचुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार त्रिभुवननगर जेसीजको आयोजना तथा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराही, दाङको प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ५० बढीले स्वास्थ्य सेवा लिएका छन् ।शिविरमा सबैभन्दा बढी बिरामीहरु डाढ, नसा तथा जोर्नी सम्बन्धी सेवाका लागि आएको उपचारमा संलग्न डा. रमेश बस्नेतले जानकारी दिनुभयो । साथै स्त्री तथा प्रजनन् सम्बन्धी समस्याका बिरामीहरुसमेत ठूलो संख्यामा उपचारका लागि आएको आयोजकले जनाएको छ ।
शिविरमा भिडियो एक्स–रेका साथै निःशुल्क रुपमा ल्याब सेवा समेत उपलब्ध गराइएको थियो । उक्त शिविरबाट करिब १९० जनालाई भिडियो एक्स–रेको सेवा उपलब्ध गराइएको प्राथमिक स्वास्य केन्द्र स्यूजाका इन्चार्ज विकास घिमिरेले जानकारी दिनुभयो ।


स्वास्थ्य शिविरमा बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत सर्जन डा. रमेश बस्नेत, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. विमला तिवारी, रेडियोलोजिस्ट डा. विष्णु गौतम, दन्तरोग विशेषज्ञ डा. सिम्रन बखरेल, मेडिकल अफिसर डा. वसन्त पाण्डेय एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोलोजिस्ट बम बिसीले स्वास्थ्य जाँच तथा उपचार गर्नुभएको थियो ।
शिविरमा उपचार गरिएका बिरामीहरुका लागि निःशुल्क रुपमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, दाङले औषधि सहयोग गरेको थियो । शिविर बंगलाचुली गाउँपालिका, प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा, बोचपोखराको समन्वयमा आयोजना भएको हो ।

त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष अमर अधिकारीको जेसीज आस्थापाठबाट सुरु भएको कार्यक्रममा कार्यक्रम संयोजक गणेश वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीजका महासचिव किरण गौतमले गर्नुभएको थियो ।
Advertisements


