घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयशेर माध्यमिक विद्यालय घोराही–६ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का गरेर करिव दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा आत्महत्या रोकथामका बारेमा जानकारी दिइएको थियो ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा लायन्स क्लब ३२५ एन एरिया नं. २ का एरिया चिफ डा. भिमसेन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले विश्व र नेपालमा आत्महत्याको अवस्था, आत्महत्याका कारणहरु, समाधानका उपायहरु, परिवारको भूमिका, विद्यालयको भूमिका लगायत हरेक व्यक्तिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी दिनुभएको थियो ।

प्रहरी निरीक्षक मिश्रले आत्महत्यालाई शून्यमा झार्न नसकिने भए पनि यसलाई कमगर्न सकिने बताउनुभयो । आत्महत्या कम गर्नका लागि जिल्ला प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिंदै मिश्रले हरेक व्यक्तिलाई भविष्यप्रति भरोसा दिलाउनुपर्ने बताउनुभयो । उहाँले संसार उज्यालो छ भन्ने बोध सबैलाई हुनुपर्ने भन्दै हरेकले आफूप्रति विश्वास लिनुपर्ने बताउनुभयो ।नेपालमा आत्महत्या गर्नेहरुमा १५ वर्ष देखि ४९ बर्ष उमेर समुहका मानिस धेरै रहेको भन्दै पारिवारिक अवस्था, आर्थिक कारण लगायत अन्य विभिन्न कुराले मानिसले आत्महत्या गर्ने गरेको बताउनुभयो । कसैले पनि आत्मवल कमजोर बनाउन नहुने भन्दै आफूलाई हरेकले व्यस्त राख्नुपर्ने बताउनुभयो । आत्महत्या रोक्नका लागि विद्यालय जाने उमेरका बालबालिकाहरुलाई सचेतना प्रदान गर्नुपर्ने भन्दै उहाँले जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी युनिटले यस्ता कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लायन्सका एरिया चिफ डा. गिरीले आत्महत्याको अवस्था डरलाग्दो भएकाले यसको रोकथामका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीका माध्यमबाट आत्महत्या रोकथाम गर्न सकिने भएकाले लायन्सले विद्यालय तहमा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक गणेश रिजालले विद्यालयमा आत्महत्या विरुद्धको कार्यक्रम ल्याएर लायन्स क्लबले राम्रो काम गरेको बताउनुभयो । गएको वर्ष विद्यालयमा सात कक्षामा अध्ययन एकजना छात्राले आत्महत्या गरेको प्रसङ्ग निकाल्दै उहाँले विद्यालयमा आयोजना गरिने सचेतनाका कार्यक्रम उपलब्धीमूलक हुने बताउनुभयो । उहाँले अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम आयोजन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी छात्र छात्राहरुले आत्महत्या रोकथामका लागि भइरहेका प्रयास, कानुनी प्रावधान, प्रहरीले गरिरहेको प्रयास, मानिसले आत्महत्यालाई किन रोज्छ भन्ने जस्ता जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लब राप्ती इञ्जिनियरिङका सदस्य सुवास खड्काले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस