दाङ, २७ असोज । प्रेस चौतारी नेपाल दाङ शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका क्रममा विभेद भएको भन्दै महासंघ दाङ शाखामा ज्ञापनपत्र बुझाएको छ । चौतारी दाङका कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जा तथा सचिव किरण गौतमद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा व्यावसायिक र क्रियाशील पत्रकारहरुलाई पाखा लगाएर महासंघभित्र राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यहरुको नामावली सार्वजनिक गरिएको भन्दै आपत्ती प्रकट गरिएको छ । ज्ञापनपत्रमा २४ घण्टाभित्र त्रुटी सच्याउन महासंघ नेतृत्वसँग माग समेत गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले सदस्यता शुद्धीकरणका लागि आफूहरुले सबै संगठनहरुसँगको साझा सहमतिमा शुद्धीकरणलाई निष्कर्षमा पु¥याएको भन्दै आफूहरु अहिले पनि सोही निर्णय कार्यान्वयनमा प्रतिबद्ध भएको बताउनुभयो । नवीकरण गर्ने भए दाङ शाखाको निर्णय अनुसार सबैको गर्ने र नगर्ने भए कसैको नगर्ने भनेर आफूहरुले समेत ज्ञापनपत्र साथ निर्णय पुनर्विचारका लागि केन्द्रीय कमिटी र प्रदेश कमिटीमा पत्र पठाउने उहाँले बताउनुभयो ।

उक्त अवसरमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले पूर्वाग्रही निर्णयका विरुद्ध प्रेस चौतारी देशव्यापी रुपमा आन्दोलनमा उत्रिएको बताउनुभयो । प्रदेश कमिटीहरुले राम्रोसँग काम गर्नुको साटो क्रियाशील पत्रकारहरुको नाम छुटाएर सूची सार्वजनिक गरिएकोले लुम्बिनी प्रदेश मात्र नभएर सबैतिर आन्दोलनका कार्यक्रमहरु भइरहेको बताउनुभयो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह–इन्चार्ज टीका बस्नेत, प्रदेश कमिटी सदस्य छवि पुरीलगायत चौतारी दाङका कार्यसमिति पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस