तुलसीपुर, २३ कार्तिक । खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाउनुभएको छ । उपचार गर्नका लागि तुलसीपुर प्रादेशिक अस्पतालमा सम्भव नभएपछि बिहीबार साँझ नगरप्रमुख खड्काले व्यक्तिगत रुपमा उहाँलाई काठमाडौँ पठाउनुभएको हो ।

तुलसीपुर १९ सुंगुरखोलाकी २८ वर्षिय पम्फी पुन कार्तिक ९ गते खाना पकाउने क्रममा अग्नी जलनमा पर्नुभएको थियो । उहाँका श्रीमानले कार्तिक १० गते राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याउनुभएको थियो । अस्पतालमा डाक्टरहरुले यहाँ उपचार गर्न सम्भव नभएको तत्काल अन्यत्र लैजान सुझाव दिएका थिए । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न नसकी घरमै लैजानुपरेको उहाँका श्रीमान् बुद्धिराम पुनले बताउनुभयो ।

बुद्धिराम पुन अग्नीजलनबाट पीडित श्रीमतीको उपचारका लागि आर्थिक जोहो गर्न बुधबार अर्थात् कार्तिक २२ गते वडा कार्यालयबाट सिफारिस ल्याएर तुलसीपुर उपमहानगरपालिका कार्यालयमा आउनुभएको थियो । नगरप्रमुख खड्काले तत्कालै पालिकाबाट आर्थिक सहयोग गर्न नसकेपनि राप्ती प्रादेशिक अस्पतालबाट काठमाडौँसम्म पुग्न लागि पालिकाकाबाट एम्बुलेन्स सेवा निःशुल्क व्यवस्था गरेको बताउनुभयो । उहाँले तत्कालैका लागि त्यहाँ पुगेपछि उपचारका लागि व्यक्तिगततर्फबाट रकमको व्यवस्था गरेको बताउनुभयो ।

त्यस्तै वडा नम्बर १९ वडा कार्यालयबाट समेत उपचारका लागि तत्कालै सहयोग पुगोस् भन्ने ध्येय राखेर रकम उपलब्ध गराएको वडा सदस्य रामबहादुर पौडेलले बताउनुभयो । अग्नी जलनबाट पम्फीको अनुहारमा घाँउ भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जलन भएको करिब १५ दिन पछि मात्रै काठमाडौ पठाइएको छ । नगरप्रमुख खड्काले समयमै जानकारी प्राप्त नहुँदा पम्फीलाई उपचारमा सहयोग गर्न नसकिएको बताउनुभयो । उहाँले पम्फीको उपचारमा आर्थिक अभावकै कारण खड्को नपरोस् भन्ने हेतुका साथ आर्थिक संकलनको अभियाननै थाल्ने र पालिकाबाट कार्यपालिका निर्णय गरेर थप रकम उपलब्ध गराउने बताउनुभयो ।

पम्फीको उपचारका लागि यस क्षेत्रका युवाहरुले समेत सहयोग गरेका छन् । बिहीबार मात्रै करिब तीस हजार रकम संकलन गरेर उहाँका श्रीमानलाई रकम हस्तान्तरण गरिएको युवा सुशील खड्काले बताउनुभयो । पम्फीका पाँच जना सन्तान रहेका छन् । श्रीमान् बुद्धिराम पुनले आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा सहयोग गर्नका लागि अनुरोध गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस