दाङ, २५ कार्तिक । नेपाल निजामती कर्मचारी संगठनले दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारेर शनिबार शुभकामना आदानप्रदान गरेको छ । सोही अवसरमा कर्मचारीहरुको पेशागत सुरक्षा, अवसर र चुनौतीबारेमा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका कमिटी अध्यक्ष लीलाजीत नेपालीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै कर्मचारीहरुको पेशागत सुरक्षा, अवसर र चुनौतीका बारेमा जनप्रतिनिधिहरुसहित छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारी र जनप्रतिनिधिहरुको सुमधुर सम्बन्धबाट नै नागरिकहरुलाई उत्कृष्ट सेवा दिन सकिने बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्यले कर्मचारीहरु आफ्नो कामप्रति लगनशील र प्रतिबद्ध भएर काम गर्नुपर्ने र स्थानीय सरकारले उनीहरुको पेशागत सुरक्षाका साथै काम गर्नका लागि अनुकूल वातावरण मिलाउनु पर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसी, नेकपा एमाले दाङका उपाध्यक्ष राममणि पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका दाङ जिल्ला अध्यक्ष शेरबहादुर केसी, पेशागत महासंघ नेपाल घोराहीका इन्चार्ज शैलेन्द्र खनाल, पेशागत महासंघ नेपाल दाङका सचिव ठाकुर खनाल, घोराही उपमहानगरपालिका स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक ईश्वरी राज पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गोकर्ण वली, घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष चित्रबहादुर चौधरी, पेशागत महासंघ नेपालका केन्द्रीय निर्वाचन कमिटी संयोजक उद्धव न्यौपाने, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य नारायण प्रसाद घर्ती, पिपिएलएका केन्द्रीय सदस्य भूप बहादुर नेपाली, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय निर्वाचन आयोगका सचिव गोपाल नेपाली, पेशागत महासंघ नेपाल दाङका पूर्व अध्यक्ष अरुण कुमार शर्मालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाबाट सेवा निवृत्त हुनुभएका कर्मचारी चोपनारायण खनाल र हरिप्रसाद पुनलाई बिदाइ गरिएको थियो । साथै घोराही उपमहानगरपालिकामा कार्यरत इन्जिनियर भरत केसीलाई सम्मान एवं तुलसीपुर उपमहानगरपालिकाबाट सरुवा भई आउनुभएका रोजगार संयोजक किरण गौतमलाई कार्यक्रमका अवसरमा स्वागत गरिएको थियो ।

घोराही उपमहानगर कमिटीका उपाध्यक्ष प्रेम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही नगर कमिटी इन्चार्ज मोहन सिंह सुनारले कार्यक्रमको बारेमा विषय प्रवेश गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण संगठनका घोराही उपमहानगर कमिटी सचिव भिमबहादुर केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस