दाङ, २८ कार्तिक । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाइ राहत उपलब्ध गराएको छ । सोमवार भूकम्प प्रभावित क्षेत्रमै पुगेर बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेको हो ।

पार्टीका सङ्गठित सदस्यसँग जनही ५० रुपैयाँ, एमालेका पालिका कमिटी, वडा कमिटी, जातीय मुक्ती समाज, पेसागत महासङ्घ, भूमिहीन श्रमिक संगठन, राष्ट्रिय खेलकुद महास‌ंघ लगायत जनवर्गीय संगठन र शुभेच्छुकहरुबाट संकलन गरिएको रकमले राहत उपलब्ध गराइएको एमाले दाङले जनाएको छ ।

एमाले दाङले जाजरकोटका लागि १ सय ५० थान त्रिपाल, १ सय ५० थान कम्बल, १ सय मिटर म्याट त्यसैगरी रुकुम पश्चिमका लागि पनि १ सय ५० थान त्रिपाल, १ सय ५० थान कम्बल, १ सय मिटर म्याट हस्तान्तरण गरिएको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । एमालेका पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्य घनश्याम पाण्डे, एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, उपाध्यक्ष राममणी पाण्डे, सचlव मनोहर बुढाथोकिलगाएतले एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटा, कर्णाली प्रदेश सदस्य कौशीला केसी तथा एमाले जाजरकोटका अध्यक्ष खिम बहादुर शाही, गोपाल नेपालीलाई बन्दोबस्तीका सामग्री हस्तान्तरण गर्नु भएको हो ।

एमाले दाङले राहत सामग्री निःशुल्क जाजरकोट र रुकुमपश्चिम दुवानी गर्ने नेकपा एमाले दाङका सचिवालय सदस्य सुदन केसी र युवा संघ नेपालका केन्द्रीय सदस्य देबु बस्नेतलाइ धन्यवाद ज्ञापन गरेको छ ।

दुःखमा जोडिने प्रयास गरेका हौं : चौधरी

नेकपा एमालेका पोलिट्व्युरो सदस्य शान्ता चौधरीले एमाले दाङले भुकम्प पीडितहरुको सानो सहयोगमार्फत दुःखमा जोडिन खोजेको बताउनु भएको छ । राहत हस्तान्तरणपछि बोल्दै नेता चौधरीले आपतबिपतमा सक्दो सहयोग गर्नु छिमेकीको कर्तव्य हुने बताउनुभयो ।

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले भुकम्प पीडितको पुनःस्थापनामा ध्यान दिन तिनै तहका सरकारसङ्ग आग्रह गर्नुभयो । उहाँले पीडितको पुनःस्थापनाका लागि एमालेले केही दिनमै भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्न लागेको जानकारी दिनुभयो । एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले भुकम्पपीडितको पुनस्थापनामा सक्दो योगदान गर्न सबैलाइ अपिल गर्नुभयो ।

एमाले दाङका जिल्ला पदाधिकारी, घोराही, तुलसिपुरलगायत पालिका पदाधिकारी, प्रेस चौतारी, कर्मचारी सङ्गठनका पदाधिकारी राहतका लागि जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । तिहार लगत्तै भुकम्प प्रभावित क्षेत्रमा दाङबाट स्वयंसेवक खटाउन लागेको एमाले दाङले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस