मंसिर १७, घोराही । मानवीय सेवाका लागि रक्तदान अपरिहार्य रहेको घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष तारा बहादुर डाँगीले बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडमीको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार आयोजित रक्तदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जीवनमा पहिलो पटक रक्तदान गर्दै अध्यक्ष डाँगीले भन्नुभयो “यो मेरो जीवनकै पहिलो रक्तदान हो, यो अवसर जुराइदिएकोमा ज्ञानमाला एकेडेमी परिवारलाई धन्यवाद दिन चाहन्छु ।” कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका वडा अध्यक्ष डाँगीले हामीले दिएको रगतले रगतको अभावमा अस्पतालमा छट्पटिइरहेको बिरामीको ज्यान बच्ने भन्दै सबैलाई यो पुण्य कर्ममा लाग्न प्रेरित गर्नुभयो ।
कार्यक्रमका अर्का वक्ता रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलिप न्यौपानेले रक्तदाताहरु शारीरिक तथा मानसिकरुपमा स्वस्थ हुनुपर्ने बताउनुभयो । “रक्तदाताहरु शारीरिकरुपमा स्वस्थ भए तापनि रक्तदान गर्ने समयमा मानसिकरुपमा तयार नहुँदा कतिपयलाई चक्कर लाग्ने, वान्ता हुने, कमजोर अनुभव हुने लगायतका समस्याहरु देखिने गर्दछन् ।” इञ्चार्ज न्यौपानेले बताउनुभयो । रक्तदानका बारेमा प्रकाश पार्दै न्यौपानेले १७ वर्ष पूरा भई ६० देखि ६५ बर्षसम्मका र ४५ किलोग्राम तौल भएका स्वस्थ व्यक्तिहरुले मात्र रक्तदान गर्न सकिने उल्लेख गर्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष चिज बहादुर चौधरीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष तारा बहादुर डाँगीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा १४ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । वडा अध्यक्ष तारा बहादुर डाँगीले रक्तदान गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेत, शिक्षकहरु रुपक नेपाली, चूर्ण बहादुर बस्नेत, बिजेन्द्र कार्की, किशु खड्का, मिना योगी, सलिमा चौधरी, पुष्पा श्रेष्ठले रक्तदान गर्नुभएको थियो । यसैगरी, अभिभावकहरु शारदा बिष्ट ओली, सन्तोष चौधरी, राजन चौधरी, संगित डाँगी र मोहन पुनले रक्तदान गर्नुभएको थियो ।
विद्यालयकी कार्यक्रम संयोजक बिमला केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल महेश बस्नेतले गर्नुभएको थियो । विद्यालयले १६औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मंसिर १२ गतेदेखि १७ गतेसम्म खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिएको खेलकुद संयोजक विजेन्द्र कार्कीले बताउनुभयो । विद्यालयले मंसिर १८ गते सोमबार बृहत कार्यक्रम गरि १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस समापन गर्ने र उक्त कार्यक्रममा उपस्थितिका लागि विद्यालयकी कार्यक्रम संयोजक बिमला केसीले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस