सल्यान, ५ माघ । सल्यानको त्रिवेणी गाउँपालिकाको ग्रामीण वस्ती रावलखोला र चैलकाँडामा विद्युत विस्तार गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको अध्यक्षता तथा शंखमूल ग्रामीण विद्युतीकरण संस्थाका अध्यक्ष एवं निवर्तमान जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टको प्रमुख आतिथ्यतामा बिजुली बत्तीको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले पुस्तौँदेखि अँध्यारोमा बसिरहेका नागरिकहरुको जनजिविकालाई सहज बनाउन विद्युतीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्रिवेणीका विद्युत नपुगेका बाँकी बस्तीहरुमा समेत विद्युतीकरणका लागि आफ्नो पहल रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले विद्युतीकरण हुन बाँकी बस्तीहरुमा नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रबाट प्राविधिक नापजाँचको कार्य सम्पन्न गराइसकेको बताउँदै यथाशीघ्र विद्युत विस्तारका लागि पहल भइरहेको बताउनुभयो । शंखमूल ग्रामीण विद्युतीकरणको ९० प्रतिशत र त्रिवेणी गाउँपालिकाको १० प्रतिशत लागत साझेदारीमा विद्युतीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जानकारी दिनुभयो । विद्युतीकरणबाट चैलकाँडा, रावलखोला, पिमखोला, रिङाटे, पैयाँचौरका करिब ६० घरधुरी लाभान्वित भएको उहाँले बताउनुभयो ।बिजुली बत्ती उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, ३ नं. वडा अध्यक्ष कर्णदेव डाँगी, ५ नं. वडा अध्यक्ष विमल रावत, निवर्तमान ३ नं. वडा अध्यक्ष हुकुम प्रसाद महतरा, इन्जिनियर शिवराज गासाई, योजना शाखा प्रमुख अमर सिं बबाल, आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

वडा नं. ३ का अध्यक्ष कर्णदेव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा नं. ३ का सचिव अमर कालाथोकीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस