जे.एन.सागर
घोराही, १२ माघ । नेकपा एमाले घोराही उपमहानगर कमिटीले घोराहीको समृद्धिका लागि संकल्प यात्रा गर्ने भएको छ । घोराही उपमहानगर कमिटी सचिवालयको माघ १२ गते घोराहीमा बसेको बैठकले उपमहानगरका १९ वटै वडामा संकल्प यात्रा गर्ने निर्णय गरेको हो ।

नगर अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा घोराही नगर इन्चार्ज मेनका पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले घोराहीको विकास र समृद्धिका लागि जनतासम्म पुग्न आगामी चैत १ गतेदेखि दुइ हप्ते अभियान थाल्ने निर्णय गरेको नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो ।

यात्राका क्रममा घोराहीका १९ वटै वडामा पुग्ने, जनतासँग भेटघाट गर्ने, समस्या र सम्भावना बुझेर विकासका लागि पहल गर्ने उद्देश्यले अभियान थाल्न लागिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसैगरी बैठकले पार्टीलाई मजवुत बनाउने र नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न आउदो फागुन १८ र १९ गते घोराही नगरस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने पनि निर्णय गरेको छ भने घोराही नगरका सबै वडा कमिटीको वैठक फागुन पहिलो हप्तासम्म बस्ने, नगरस्तरीय जनसंगठनका बैठक पनि फागुन पहिलो हप्तासम्म बस्ने निर्णय भएको छ ।

बैठकले माघ २६ गते लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको स्मृतिमा अस्पताल परिसरमा सरसफाई गर्ने, आठ मार्च अर्थात नारी दिवसको अवसर पारेर अखिल नेपाल महिला संघको समन्वयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सो अवसरमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, एमाले दाङका सचिव मनोहर बुढाथोकी, सचिवालय सदस्य गेहेन्द्र बस्नेतलगायतले घोराहीको समृद्धिका लागि संकल्प यात्रालाई थप व्यवस्थित गर्न र नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न सुझाव दिनुभएको थियो । वैठकको सहजीकरण नगर सचिव इन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस