दाङ, ८ फागुन । दंगीशरण गाउँपालिकामा कर्मचारी सरुवा र शाखा परिवर्तनप्रति दुई कर्मचारी संगठनले असहमति जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन दंगीशरण गाउँ कमिटी र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दंगीशरण गाउँ कमिटीले असहमति जनाएका हुन् ।
फरक ट्रेड युनियनमा आस्था राख्ने कर्मचारीहरुलाई सरुवा तथा शाखा परिवर्तन गरेको भन्दै दुई संगठनले १२ वटा बुँदा अघि सार्दै गाउँपालिकालाई तत्काल निर्णय सच्याउन आग्रह समेत गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन दंगीशरणका अध्यक्ष लेखनाथ आचार्य र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दंगीशरणका अध्यक्ष किरण पोखरेलले कर्मचारी सरुवा तथा शाखा परिवर्तन कार्यलाई तत्काल फिर्ता गर्न आग्रह गर्नुभएको छ । कर्मचारी सरुवा तथा शाखा परिवर्तन गर्दा कर्मचारीसँग छलफल नगरिएको, आत्मसम्मानमा ठेस पुर्याएको, साविककै जिम्मेवारीमा कर्मचारीलाई खटाउनुपर्ने, सरुवा खारेज हुनुपर्ने, आस्थाका आधारमा कर्मचारीलाई सरुवा तथा शाखा परिवर्तन गर्न नहुने तथा आस्थाकै आधारमा एक आर्थिक वर्षमा पाँच पटक काज सरुवा गर्ने जस्ता व्यवहार तत्काल बन्द गर्न ज्ञापन पत्रमार्फत आग्रह गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन दंगीशरण गाउँ कमिटीका अध्यक्ष लेखनाथ आचार्य र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दंगीशरणका अध्यक्ष किरण पोखरेलले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुभएको हो । मागप्रति बेवास्ता गरिएको अवस्थामा चरणबद्ध आन्दोलन तथा त्यसको नोक्सानी पालिकाले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


