तुलसीपुर, २३ फागुन । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नौमती बाजा बजाउने महिलाहरुलाई सम्मान गरिएको छ । तुलसीपुर  उपमहानगरपालिका एवम् यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको  जनचेतना आमा समूहका तीस जना महिलाहरुलाई  नौमती बाजा बजाउँदै आएकोमा सम्मान गरिएको हो । महिलाहरुले दुई वर्षअघि समूहमार्फत दश लाखमा नौमती बाजा सेट खरिद गरेर नौमती बाजा बजाउँदै आउनुभएको छ । समूहका अध्यक्ष कौशिला खड्काले विवाह, पूजा, व्रतबन्ध तथा विभिन्न समारोहमा १० देखि ३० हजारसम्म शुल्क लिएर बाजा बजाउँदै आएको बताउनुभयो ।

बाजा बजाउने महिला समूहमा आबद्ध वाद्यबाधक महिलाहरुलाई सम्मान गर्दै नगरप्रमुख टीकाराम खड्काले उहाँहरुका लाथि थप प्रोत्साहन र हौसलाका लागि पालिकाबाट नै थप नौमती बाजा खरिद गरेर हस्तान्तरण गरिने बताउनुभयो । उहाँले अझै पनि समाजमा नौमती बाजा पुरुषले मात्रै बजाउने कला सीप छ भन्ने भनाइ जनचेतना आमा समूहले चिर्न सफल भएको बताउनुभयो ।

दिवसकै अवसरमा पाँच जना महिला पत्रकारलाई सम्मानित गरिएको थियो । पत्रकारहरु दिप्तीशिखा चौधरी, उमा भण्डारी, अञ्जना चौधरी, यमकला भुसाल र रमा परियारलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा जुत्ता सिलाउने पेशा अंगाल्नुभएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का  बालकुमारी सार्की, वडा नम्बर १८ का सीता सार्की र वडा नम्बर ६ का विवा सार्कीलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा नौमती बाजा बजाएरै तुलसीपुर बजार क्षेत्रमा परिक्रममा गरिएको थियो ।

उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ६ का पूर्व वडाध्यक्ष नवराज लामिछाने, महिला अधिकारकर्मी युवा करारा, सुष्मा लामिछाने, नागरिक समाजका पूर्व संयोजक टीकाराम रेग्मी, जर्मनी महिला अधिकारकर्मी  बाबरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास समितिका सदस्य वसन्ता केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस