दाङ, २४ फाल्गुन– घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका बालिकाहरुले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बिहीबार सर्रा चोकमा बलात्कारविरुद्ध चेतनामूलक रोड शो गरेका छन् ।
विद्यालयमा गठित किशोरी क्लब, बाल क्लब र रेडक्रस सर्कलमा आबद्ध बालिकाहरुले बलात्कारका दोषीहरुलाई कार्बाहीको माग गर्दै फरक तरिकाले महिला दिवस मनाएका छन् । बालिकाहरुले बलात्कारका दोषीलाई कार्वाही हुनुपर्ने, बालिकाको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, बालिका बचाउन सरकार गम्भीर हुनुपर्ने लगायतका सन्देशमूलक गीतहरुमा सडक नाच प्रदर्शन गरेका थिए ।

प्रकाश सपुतको ‘बदला बरिलै’ गीतमा नाच प्रदर्शन गर्दै उनीहरुले ‘बलात्कारी हौ तिमी, बलात्कारी हौ’ भन्ने खबरदारीपूर्ण गीतमा अभिनय गरेका थिए । दिनहुँजसो बलात्कारका घटना भैरहेका सन्दर्भमा बालिकाहरुको सुरक्षाको माग गर्दै सडकमा नाच प्रदर्शन गरेको किशोरी क्लबकी सचिव अदिती केसीले बताउनुभयो । ‘कतिपय बलात्कारका घटनामा लामो समयसम्म पनि दोषी पत्ता नलाग्ने समस्या छ,’ उहाँले भन्नुभयो,‘बलात्कारका घटना बढ्दै जाने तर दोषीलाई कार्वाही नहुने समस्या छ । यसविरुद्ध चेतना फैलाउन रोड शो गरेका हौं ।’बलात्कार पीडितको संरक्षण नहुने समस्या रहेको र यसले बालिकाहरुलाई असुरक्षाको महसुस भैरहेको विद्यार्थी स्मारिका चौधरीले बताउनुभयो । ‘बलात्कार जस्तो जघन्य अपराधमा कमी आउन सकेको छैन,’ उहाँले भन्नुभयो,‘यसले हामीहरुलाई सुरक्षाको महसुस गराउन सकेको छैन । यसविरुद्ध सन्देश दिन बालिकाहरु एकजुट भएर सडकमा आएका हौं ।’

नृत्यमा सहभागी बालिकाहरुले बलात्कारका कारण धेरै बालिकाहरु त्रासमा बाँचिरहेको गुनासो गरे । हरेक महिला दिवसमा महिला अधिकारका विषयमा छलफल हुने गरे पनि महिला र बालिकामाथि हिंसा हुने क्रम नरोकिएपछि बालिका बचाऊको सन्देश दिंदै चेतनामूलक रोड शो गरेको विद्यालयकी कार्यक्रम संयोजक विमला केसीले बताउनुभयो । बालिका र किशोरीहरुमा रहेको असुरक्षाको भावना हटाउन सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवस रचनात्मक तरिकाले मनाउन बलात्कारविरुद्धको चेतनामूलक नाच तयार गरी सडकमा प्रदर्शन गरेको विद्यालयकी नृत्य शिक्षिका अनुशा वलीले बताउनुभयो । यसले लैंगिक हिंसा र बलात्कारका घटनाप्रति सबैलाई संवेदनशील बनाउन भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । बालिकाहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, लैंगिक विभेद् अन्त्य हुनुपर्ने, बलात्कारका दोषीलाई कार्वाही हुनुपर्ने, बालिकाको सुरक्षा हुनुपर्ने जस्ता नारा लेखिएका प्ले कार्ड र ब्यानर बोकी विद्यालयदेखि सर्रा चोकसम्म र्‍याली गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस