दाङ,२० जेठ । मोही हक कार्यान्वयनको माग गर्दै जिल्ला मालपोत कार्यालय, भूमिसुधार र नापी कार्यालयमा तालावन्दी गर्न पुगेको स्वर्गद्वारी गुठीपीडित किसानहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।


भूमिसम्वन्धी सरकारी कामकाज ठप्प पार्ने भन्दै गुठीपीडित किसानहरु तालावन्दी गर्न पुगेपछि प्रहरीले भिड नियन्त्रण गर्न १० सेल अश्रुग्याँस प्रहारी गरेको प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले जानकारी दिनुभयो । प्रहरी र आन्दोलकारीवीच झडप हुँदा १२ जना गुठीपीडित किसान घाइते भएका छन् ।

घाइते हुने गुठीपीडित किसानहरुमा घोराही उमनपा–१ का रुपनारायण चौधरी, फूलमान चौधरी, तुलसी चौधरी,सुनिता चौधरी, सुशील चौधरी, दुर्गाप्रसाद चौधरी, लमही नपा–३ की गंगावती चौधरी, विष्णुप्रसाद चौधरी,सत्यनारायण चौधरी, लमही नपा–४ का देवराज चौधरी, लमही नपा–७ की कृष्णी चौधरी र घोराही उमनपा–१४ का महेन्द्र चौधरी घाइते हुनुभएको छ ।

टाउको, खुट्टा, हात, छातीलगायत शरिरका विभिन्न स्थानमा चोट लागेका घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरी बन्दुकका नाल र कुन्दा तथा लाठी प्रहार गरेको गुठीपीडित संघर्ष समिति दाङका सचिव प्रविण चौधरीले जानकारी दिनुभयो । प्रजिअ सुवेदीले अश्रुँग्यास प्रहार गरिए पनि कोही पनि घाइते नभएको बताउनुभयो ।

प्रहरी हस्तक्षेपपछि कार्यालयमा तालावन्दी नभए पनि गुठीपीडित किसानहरुले घोराहीस्थित मालपोत, नापी र भूमिसुधार कार्यालयमा धर्ना दिएका छन भने कामकाज ठप्प पारेका छन् । स्वर्गद्वारी गुठीपीडित किसानहरुले मोहीको प्रमाण हुँदा पनि अधिकार नपाएको भन्दै ०८० फागुन ८ गतेदेखि चैत ७ गतेसम्म जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना बसेका थिए ।

उनीहरुले मालपोत, नापी र भूमिसुधार कार्यालयको काम रोक्ने बताएका छन । गुठीको एक हजार ५० विगाह जमिन मध्ये ७ सय ५३ दशमलव ४ विगाहमा मोही कायम भएको छ । जसमा ३ हजार ५ सय घरधुरीका १६ हजार २ सय ६७ किसान आश्रित छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस