घोराही, ११ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नवनिर्वाचित घोराही नगर कमिटीको मंगलबार बसेको पहिलो बैठकले सल्लाहकार तथा विभागीय प्रमुख निमुक्त गरेकोछ ।
प्याब्सन घोराही नगर कमिटीका नवनिर्वाचित अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय कार्यसमिति सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष वीरेन्द्र चन्द, वरिष्ठ सल्लाहकारमा पोषण न्यौपाने र सल्लाहकारमा निवर्तमान उपाध्यक्ष सूर्य बहादुर रावतलाई नियुक्त गरेकोछ । बैठकले तीन वर्षे कार्यकालका लागि खेलकुद विभाग संयोजकमा उपाध्यक्ष मानसिङ घर्ती र पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन विभागको संयोजकमा कार्यसमिति सदस्य महेश बस्नेतलाई नियुक्त गरेकोछ ।
बैठकले हालै सम्पन्न तेस्रो अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनुहुने केन्द्रीय, प्रदेश, जिल्ला, पालिका प्याब्सन तथा प्याब्सन आबद्ध विद्यालय र अधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेको छ । यसैगरी हालै सम्पन्न अधिवेशनलाई निर्विवादित रुपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन समिति र समन्वय समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्याब्सन घोराही नगर कमिटीका उपाध्यक्ष मानसिङ घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा प्याब्सनका केन्द्रीय सचिव यादव गिरी, निवर्तमान नगरअध्यक्ष एवम् प्रमुख सल्लाहकार वीरेन्द्र चन्द र प्याब्सन दाङका कोषाध्यक्ष एवम् वरिष्ठ सल्लाहकार पोषण न्यौपानेले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । बैठकको सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियो ।