घोराही, ५ पुस । घोराही उपमहानगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई कानुनी साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाको न्यायिक समितिले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारका बारेमा टोल विकास संस्थाका पदाधिकारीहरुलाई जानकारी गराउने तथा न्यायिक समितिमा दर्ता गर्न सकिने उजुरी प्रकृतिका बारेमा अभिमुखीकरणलाई निरन्तरता दिएको हो । न्यायिक समितिले गत वर्ष पनि विभिन्न वडामा कानुनी साक्षरताको कक्षा सञ्चालन गरेको थियो ।

यसैक्रममा न्यायिक समितिले नम्बर १४ का जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुलाई एकै ठाउँमा राखेर न्याय सम्पादनका विषयमा अभिमुखीकरण गरेको छ । परिवार तथा गाउँघरमा हुने विवादहरुलाई वडा तह र न्यायिक समितिमा कसरी निवेदन दिने तथा त्यसको निरुपण कसरी गर्ने भन्ने विषयमा उपमहानगरपालिकाका कानुनी सल्लाहकार भूपबहादुर केसी र कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले प्रशिक्षण दिनुभयो । टोल विकास संस्थाहरुले टोलमा हुने विवादहरुलाई कसरी मिलाउन सक्छन् ? शान्ति र मेलमिलापमा टोल विकासको भूमिका के हुन्छ ? विकास निर्माणमा टोल विकास संस्थाहरुले खेल्ने भूमिका कस्तो हुने र कुन अवस्था तथा प्रकृतिका मुद्धाहरुलाई माथिल्लो निकायमा सिफारीस गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिने गरीएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले स्थानीय सरकारले न्याय सम्पादन र हिंसारहित समाज निर्माणका लागि थालेको कार्यक्रमहरु प्रभावकारी हुँदै गएको बताउनुभयो । समाजमा शान्ति कायम गर्ने, मेलमिलापको वातावरण तयार पार्ने, सरकारले तय गरेका आर्थिक, सामाजिक तथा भौतिक विकास निर्माणमा टोल विकासको भूमिका पहिलो स्थानमा हुने उहाँको भनाइ छ । कानुनी ज्ञान प्राप्तिले मात्रै सामाजिक रुपमा शान्ति कायम र न्याय प्रदानमा सार्थकता हुनेमा जोड दिनुभयो ।

त्यसैगरी, नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक हुमा कुमारी डिसीले न्यायिक समितिले आफ्ना काम, कर्तव्य र भूमिकाका विषयमा आम नागरिकहरुलाई जानकारी गराउन टोल विकास संस्थाहरुलाई आधार बनाएको बताउनुभयो । टोल विकास संस्थाका पदाधिकारीहरुले अभिमुखीकरणमा सिकेका कुराहरुलाई टोलको बैठकमा प्रस्तुत गर्ने र घर घरमा न्यायिक समितिको काम, कर्तव्यसँग टोलको भूमिकाका बारेमा जानकारी गराउने उद्देश्य रहेको बताउनुभयो । गत वर्ष पनि विभिन्न वडाहरुका न्यायिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको र यस वर्ष पनि बाँकी वडाहरुमा यो कार्यक्रम सञ्चालनलाई अघि बढाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस