तुलसीपुर,१४ माघ । मेट्रो कलेज तुलसीपुरमा विएएलएलवी अध्ययनरत विद्यार्थीहरुले कलेजका गतिविधि समेटिएको इ बुलेटिन प्रकाशन गरेका छन । मेट्रो थिङक ट्याङ्क क्लवको सक्रियता तथा मेट्रो कलेज तुलसीपुरको समन्वयमा विद्यार्थीहरुले इ–बुलेटिन प्रकाशन गरेका हुन ।

इ–बुलेटिनको माघ १४ गते नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले लोकार्पण गर्नुभएको हो । कलेजका गतिविधिसँगै कानुन र मानवअधिकारका विषयलाई पनि बुलेटिनमा समेटिएको छ ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथी जीएमले विद्यार्थीहरुले प्रकाशन गरेको डिजिटल पत्रिका युगको माग भन्दै यसको निरन्तरताको कामना गर्नुभएको थियो । आफूहरुले भित्ते पत्रिका प्रकाशन गरेको स्मरण गर्दै उहाँले समयअनुसार डिजिटल पत्रिका प्रकाशन गरेकोमा मेट्रो कलेज, विएएलएलवीका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै नयाँ युगबोध दैनिकका समाचार सम्पादक जे.एन.सागरले इ–बुलेटिनले कानुनी साक्षरताका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै निरन्तरताको कामना गर्नुभयो । कानुन जान्दैन वा थाहा पाइन भनेर कसुरबाट उन्मुक्ति नपाइने अवस्थामा कानुनका विद्यार्थीहरुले प्रकाशन गर्ने मेट्रो इ–बुलेटिनले सर्वसाधारणलाई कानुनी शिक्षा दिन भूमिका खेल्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै रिपोटर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष शरद रेग्मीले विद्यार्थीहरुको पहिलो प्रयासमै सूचना र सचेतनामूलक सामग्रीले स्थान पाएको भन्दै मेट्रो इ–बुलेटिन प्रकाशनले विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउने बताउनुभयो । उहाँले सम्पादन मण्डल र साजसज्जामा ध्यान दिन सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले विद्यार्थीहरुले निकालेको इ–बुलेटिनले समाजमा सूचना प्रवाह गर्ने र कतै न कतै पत्रकारीता क्षेत्रलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इ–बुलेटिन र यसको निरन्तरतका विषयमा जानकारी दिदै मेट्रो कलेजका प्राचार्य बसन्त आचार्यले विद्यार्थीहरुको सम्भावनालाई मध्यनजर गर्दै बुलेटिन प्रकाशन थालिएको बताउनुभयो । एकातिर लेखनको अभ्यास हुने र अकोतिर क्लव, कलेजका गतिविधिलाई बाहिर ल्याउन पनि सहज हुने भएकाले वुलेटिन प्रकाशन थालेको बताउनुभयो ।

उहाँले मेट्रो कलेजबाट प्राविधिक शिक्षालाई जोड दिइएको भन्दै कलेजमा अध्ययन गर्ने ८ सय वढि विद्यार्थीहरुलाई तह र कार्यक्रमअनुसार सम्वन्धित क्षेत्रमै व्यवहारिक अभ्यास समेत गराईने जानकारी दिनुभयो । उहाँले हरेक महिना बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो ।

मेट्रो थिङ्क ट्याङक क्लवकी अध्यक्ष दिपा बुढाथोकीको अध्यक्षतामा कलेजमै भएको कार्यक्रममा क्लवका दुरविन वलीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण कलेजका विद्यार्थी पारस वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस