जेठ २२, काठमाडौं । सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। नयाँ निर्देशिकाअनुसार अबदेखि घरजग्गा किनबेच गर्दा दुवै पक्ष (किन्ने र बेच्ने) ले बैंक स्टेटमेन्ट र केवाईसी फारम अनिवार्य रूपमा भरी पेश गरेपछि मात्र लिखत पारित गरिनेछ।
१० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको निर्देशनअनुसार यो व्यवस्था सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रण गर्नका लागि गरिएको हो।
त्यसैगरी, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको विवरणसहितको बैंक स्टेटमेन्ट पनि लिखतसँगै पेश गर्नुपर्नेछ। यससँगै, एक व्यक्तिले दिनमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा सोबारे नेपाल राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था समेत गरिएको छ।












