दाङ, भदौ १० । लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यज्यूले हरितालिका तीज पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग गहन रूपमा सम्बन्धित महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

माननीय मुख्यमन्त्रीज्यूले तीज पर्वले महिलाको क्षमता र योग्यतालाई सम्मान गर्ने, समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना प्रवाह गर्ने कार्यमा अभिन्न योगदान गर्दै आएको उल्लेख गर्दै शुभकामना सन्देशमार्फत भन्नुभएको छ, “तीज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेद तथा विविध असमानताको अन्त्य गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माणतर्फ प्रेरणा दिने पर्वका रूपमा स्थापित भएको छ । यसलाई अवसरको रूपमा उपयोग गर्नु हामी सबैको साझा दायित्व हो ।”

शुभकामना सन्देशमा उहाँले महिलाले आफ्ना दुःख, पीडा तथा खुसीलाई सामूहिक रूपमा अभिव्यक्त गर्ने अवसरका रूपमा तीजले आत्मबल, आपसी एकता र सामूहिकताको संस्कारलाई सबल बनाउन विशेष योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभएको छ । साथै, यस पर्वलाई केवल धार्मिक दृष्टिले मात्र नभई सामाजिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण चाडका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ ।

माननीय मुख्यमन्त्रीज्यूले तीज पर्व मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई परित्याग गरी यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

महान् चाड हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले तीज पर्वले समाज रूपान्तरण र सकारात्मक परिवर्तनमा प्रेरणा दिने विश्वास प्रकट गर्नुभएको छ ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले तीज पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस