दाङ, ४ चैत । शिक्षा विकास तथा समन्वय इकाइ, दाङले आगामी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)लाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालालाई आवश्यक समन्वय र सहजीकरण गर्न अपिल गरेको छ ।
चैत्र ७ गते बिहीबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा दाङ जिल्लाका २५३ सामुदायिक तथा संस्थागत विद्यालयका नियमित र ग्रेडवृद्धि गरी जम्मा १४ हजार दुई सय ८८ जना परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये ३५० जना प्राविधिक धारका विद्यार्थी रहेका छन् ।
परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन ४७ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको अभिमुखीकरण पनि सम्पन्न भइसकेको छ । प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य परीक्षा सामग्रीहरूलाई सम्बन्धित सुरक्षा निकाय र परीक्षा केन्द्रमा समयमै पुर्याउने तयारी पनि पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
परीक्षामा सहभागी विद्यार्थीहरूलाई डर र त्रासको वातावरणबाट टाढा राखेर उनीहरूको आत्मविश्वासलाई प्रोत्साहन गर्न शिक्षा इकाइले अपिल गरेको छ । इकाइले भनेको छ, “परीक्षालाई एक नियमित प्रक्रिया रूपमा हेर्नुहोस् र आफ्नो सिकेका कुरा व्यवस्थित ढंगले प्रस्तुत गर्नुहोस्। यस परीक्षामा सबै विद्यार्थी तयार छन् भन्नेमा हामी विश्वस्त छौं ।”
शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणी चौधरीले परीक्षाको तयारी र सबै प्रक्रियाहरू पूर्ण भएको जानकारी दिनुभएकाे छ । उहाँले परीक्षामा मर्यादा विपरीतका गतिविधिहरू नगर्न र नगराउन १० वटै स्थानीय तह, अभिभावक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, राजनीतिकर्मी तथा गैरसरकारी संघसंस्था लगायत सबै सरोकारवालासँग सहयोगको अपिल गर्नुभएकाे छ ।


