घाेराही, १८ चैत । नेपाल निवृत्त शिक्षक समाज दाङले श्रद्धाञ्जली सभा गरेकाे छ । आज एक कार्यक्रम गरि समाजले आफ्ना संस्थापक सदस्य एवम् प्रथम उपाध्यक्ष स्वर्गीय सेनराज शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेकाे छ । चैत १२ गते उपचारका क्रममा दिवङ्गत हुनुभएका शाहकाे आज साताैं दिनका अवसरमा समाजले श्रद्धाञ्जली सभाकाे आयाेजना गरेकाे हाे ।

नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गाेविन्द पाैडेलकाे अध्यक्षता एवम् सल्लाहकार भिमकान्त दाहालकाे प्रमुख आतिथ्यतामा आयाेजित श्रद्धाञ्जली सभामा बाेल्ने वक्ताहरुले स्वर्गीय शाह कर्मठ देशभक्त सामाजिक, शैक्षिक एवम् राजनैतिक व्यक्तित्व रहेकाे उल्लेख गरेका थिए । उनीहरुले स्वर्गीय शाहले समाज र राष्ट्रका लागि अतुलनीय याेगदान दिएकाे उल्लेख गर्दै उहाँ सरल जीवन र कर्तव्यनिष्ठका पर्याय रहेकाे चर्चा गरेका थिए ।
श्रद्धाञ्जली सभाका प्रमुख अतिथि दाहालले नेपाल निवृत्त शिक्षक समाज दाङ गठनमा स्वर्गीय शाहकाे महत्वपूर्ण याेगदान रहेकाे बताउनुभयाे । स्वर्गीय शाहकाे जीवनशैलीले नै उहाँकाे व्यक्तित्व चित्रित गरेकाे उल्लेख गर्दै दाहालले भन्नुभयाे, “कुनै आर्थिक प्रलाेभनमा नपर्ने एक असल समाजसेवी सेनराज हुनुहुन्थ्यो ।”

सभामा नेपाल निवृत्त शिक्षक समाज घाेराही नगर कमिटीका अध्यक्ष बलदेव अधिकारी, नगर सदस्य रामहरि रिजालले शाेक मन्तव्य राख्नुभएको थियाे । उक्त अवसरमा स्वर्गीय शाहका जेठा दाजु खेमराज शाहले परिवारकातर्फबाट स्वर्गीय शाहकाे व्यक्तित्वमाथि चर्चा गर्नुभएकाे थियाे ।
श्रद्धाञ्जली सभामा उपस्थितहरुलाई स्वर्गीय शाहका कान्छा भाइ भुप बहादुर शाहले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । उक्त श्रद्धाञ्जली सभाकाे सहजीकरण नेपाल निवृत्त शिक्षक समाज दाङका उपाध्यक्ष पद्म प्रसाद शर्माले गर्नुभएकाे थियाे ।












