घाेराही, २२ चैत । “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भने नाराका साथ दाङ सोसाइटी क्लबले १६ औं वार्षिकोत्सवको अवसरमा “प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१” आयोजना गर्ने भएको छ।
यस खेलकुद तथा साँस्कृतिक मेलामा खेलकुदका विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरू र मनोरञ्जनात्मक गतिविधिहरु समावेश हुने आयोजक क्लब दाङ सोसाइटी क्लबले जनाएको छ । दाङमै पहिलो पटक खुल्ला पब्जी र फ्रीफायर प्रतियोगिताहरु हुने क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नेपालमा पब्जीको क्रेज बढ्दो छ, यसले युवा पुस्तामा सकारात्मक प्रतिस्पर्धा र सन्देश पुर्याउने उद्देश्यले दाङमा पहिलो पटक खुल्ला पब्जी र फ्रीफायर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।”
पब्जी र फ्रीफायर प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्वितीय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा सहभागी हुनका लागि दाङ जिल्ला भित्रका खेलाडीहरूले मात्र सहभागी हुन सक्ने आयाेजकले जानकारी गराएकाे छ । प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको छ र दर्ता चैत्र २५ गतेसम्म गर्नुपर्ने आयाेजकले जनाएकाे छ ।
क्लबले “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने नाराका साथ यस खेलकुद तथा साँस्कृतिक मेलाले दाङको खेलकुद र सांस्कृतिक पहिचानलाई बढावा दिन र युवा पुस्तामा सकारात्मक सन्देश पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।












