घाेराही, ३० चैत । बुद्धिजीवी परिषद दाङले ‘नेपालको पञ्चायतकालिन र गणतन्त्रकालिन व्यवस्थामा आर्थिक समृद्धिका सुचकहरुको तुलना विषयक’ कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सचीव कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उप-प्राध्यापक महेन्द्र भण्डारीले कार्यप्रत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस दाङका अध्यक्ष एवम् उप-प्राध्यापक नवराज सुवेदीले आर्थिक सुचकहरुको तुलनामा पछिल्लो अवधिका सुचकहरुमा संख्यात्मकरुपमा वृद्धि भएको देखिएता पनि यतिले मात्रै तुलना गर्न नसकिने बताउनुभयो । उहाँले नागरिकले पाएका अधिकार लगाएतका कुराहरुको पन्चायतकालसँग तुलना गर्न नसकिने उल्लेख गर्नुभयाे । कार्यशैली भने पन्चायतकालिन भन्दा कुनै फरक नभएको टिप्पणी गर्दै सुवेदीले भन्नुभयाे, ‘यहि कार्यशैलीकै कारणले नै नागरिकले फरक महसुस गर्न नपाएको विद्यमान अवस्था रहेको छ ।’

अर्को प्रसङ्गमा सुवेदीले भन्नुभयाे, ‘नागरिकहरु शिक्षित भएको र सुचना प्रविधिमा भएको विकासले मानिसले अर्को देशको विकासको गतिसँग तुलना गर्ने गरेको तर हाम्रो गति निकै सुस्त भएकाले नागरिकमा नैराश्यता उत्पत्ति भएको हो ।’ व्यवस्था परिवर्तन आजको नागरिकको माग नभएको भन्दै नेता र नेतृत्वको कार्यशैली र जीवनशैली फेर्नुपर्ने आजको माग रहेकाे सुवेदीले जिकिर गर्नुभयाे ।

नेपाल बुद्धिजीवी परिषद दाङका अध्यक्ष तिर्थराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सचीव कृष्णप्रसाद लम्साल, नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य श्याम कुमार आचार्य, नेकपा एमाले केन्द्रीय सदस्य जीवनकुमार गौतम, नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, बुद्धिजीवी माधव न्यौपाने, श्रीधर मज्गैया लगाएतले विषयवस्तुमाथी आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण बुद्धिजीवी परिषद दाङका सहसचिव नारायण पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस