सुधासुमन ढकाल
दाङ, ३० चैत । पेशागत महासंघ दाङले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान र वनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ । महासंघका अध्यक्ष खिम बहादुर डाँगीकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य कुमार दसाेैदिकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरुले नयाँ वर्षको अवसरमा यस्ता कार्यक्रमहरूले आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कुमार दसौँदीले पेशागत महासंघले विभिन्न क्षेत्रका श्रमिकहरूको हकहितका लागि गरिरहेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न सुझाव दिनुभयाे । यतिबेला नेकपा एमालेकाे बिचार र सिद्धान्तलाई आत्मसात गर्ने प्रत्येक नेता, कार्यकर्ताहरुले पार्टी माथि भइरहेको चाैतर्फि आक्रमण र घेराबन्दीलाई एकजुट भएर सामना गर्नुपर्ने टड्कारो आवश्यकता रहेकाे भन्दै सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा बोल्दै नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले पेशागत महासंघले श्रमिक वर्गको हक र अधिकारका पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको भन्दै यस्तो कार्यक्रमले सबै पेशागत संघसंस्थाबीच एकता र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्नुभयाे । जनवर्गीय संगठनहरुका यस्ता गतिविधिहरुले पार्टीलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बुढाथोकीले बताउनुभयाे । बुढाथोकीले भन्नुभयाे, “श्रमिकहरूको आवाज बुलन्द गर्न, उनीहरूको जीवनस्तर उकास्न र पेशागत अधिकार सुनिश्चित गर्न महासंघले खेलेको भूमिकालाई हामीले सम्मान गर्नुपर्छ। आगामी दिनमा पनि यस्तो साझा प्रयास निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”
अध्यक्ष खिम बहादुर डाँगीले नयाँ वर्षको सुरुवात सकारात्मक ऊर्जा र सहकार्यबाट गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयाे । उहाँले महासंघका गतिविधिहरूलाई अझ व्यापक र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू तथा महासंघका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । शुभकामना आदानप्रदानपछि वनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो ।












