दाङ, ३१ चैत ।  घोराही १४ झिगाैंरामा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेलाको तेस्रो दिन बैशाख १ गते नायक पल शाहको प्रस्तुति रहने भएको छ ।

दाङ सोसाइटी क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीका अनुसार, शाहसँगै कलाकार कमल गाउले, प्रेम शर्मा, सन्दीप सेन्चुरी, सुदन थापा, ममता थापा, निशा गिरि, डिला घरच्वार र युनिस घिमिरेकाे समेत सांगीतिक प्रस्तुति रहनेछ ।

‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नारासहित क्लबको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित मेला वैशाख १३ गतेसम्म सञ्चालन हुने आयाेजकले जनाएकाे छ ।

मेला प्रवेशका लागि दिउँसो ३ बजेदेखि टिकट खुला रहने र सर्वसाधारणका लागि प्रवेश शुल्क १ सय रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक, अपांग तथा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिनुभयाे ।

मेलामा ५७ विधामा विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन हुनेछन् । तीमध्ये फुटबल, क्रिकेट, भलिबल, कबड्डी, मिनी म्याराथन, ब्याडमिन्टन, एथलेटिक्स, स्लो बाइक र स्कुटी रेस, बास्केटबल, बक्सिङ, बुद्धिचाल, भारोत्तोलन, लङजम्प, हाईजम्प, तेक्वान्दो, क्यारमबोर्ड, कुर्सी दौड, चम्चा दौड रहनेछन् । यसैगरी अन्य प्रतियोगिताहरुमा रस्साकस्सी, लुडो, टेबल टेनिस, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, कविता, साइकल रेस, पन्जा लडाइँ, बेलुन टच, बोरा दौड, चकलेट दौड, तीर निसान, चित्रकलालगायत रहेकाछन् ।

त्यस्तै, इ–स्पोर्ट्स अन्तर्गत पब्जी र फ्री फायर जस्ता लोकप्रिय खेलहरू पनि प्रतियोगितामा समावेश गरिएको छ । खेलकुद प्रतियोगिता वैशाख २ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस