दाङ, २ बैशाख । दाङ सोसाइटी क्लबको १६औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यरूपमा सञ्चालन रहेको छ । “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने मूल नाराका साथ सुरु गरिएको मेलामा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरू जारी छन् ।

यसैबीच आज भएका विभिन्न खेल प्रतियोगिता अन्तर्गत
भलिबलतर्फ महेन्द्र बहुमुखी क्याम्पसले राप्ती क्याम्पसलाई सिधा तीन सेटमा (३–०) पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

पुरुष कबड्डीतर्फ एबीसी स्कुलले ४४ अंकसहित विजयी हुँदै अर्को चरणमा प्रवेश गर्‍यो भने तृदेव स्कुल २७ अंकमा सिमित भयो । महिला कबड्डीमा बबई गाउँपालिकाले घामाण्ड समूहलाई २५–२० अंकले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । बास्केटबलतर्फकाे फाइनल खेलमा आरएफए सिनियरले आरएफए जुनियरलाई १९–१३ को स्कोरले पराजित गर्दै उपाधि जितेको छ ।

आयोजकका अनुसार खेलकुद कार्यक्रम भोलि बिहान ७ बजेदेखि पुनः सुरु हुनेछ भने सांस्कृतिक कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ । मेलाको सांस्कृतिक पक्ष पनि आकर्षणको केन्द्रबिन्दु बनेको छ । भाेली ३ गते गायिका शिलु भट्टराई, राधिका परियार र खड्क शर्मालगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिने सांस्कृतिक संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभएकाे छ ।

मेलामा जिल्लाका विभिन्न विद्यालय, युवा समूह, खेलाडी र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको छ । खेलकुद र संस्कृतिको माध्यमबाट दाङको पहिचान उजागर गर्ने उद्देश्यले सुरु गरिएको मेला बैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस