घोराही, ८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १८ ले सामुदायिक विद्यालयमा भर्ना अभियान आज मंगलबारबाट गर्ने निर्णय गरेको छ । वडा अध्यक्ष भरतमणी अर्यालको अध्यक्षतामा बसेको बैठकले शिक्षकहरुको आन्दोलनका कारणले समयमा भर्ना अभियान सञ्चालन हुन नसकेको भएपनि आज मंगलबारबाट भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

वडा नं. १८ का अध्यक्ष अर्याल, वडासदस्यहरु किरण पोख्रेल, टिकाराम थापा, लैया चौधरी र दिपा नेपालीका साथै आमन्त्रीतका रुपमा मावि रझेनाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद गौतम, आधारभूत विद्यालय गिठेपानीका अध्यक्ष दिनेश ओली, आ.वि बेलघारीका अध्यक्ष किशोर पौडेल, प्रावि घोरदौराका अध्यक्ष तेजबहादुर बुढा र प्रावि जोगी डाँडाका अध्यक्ष झगबहादुर बुढाको उपस्थिति थियो ।

बैठकले शिक्षक महासंघले थालेको आन्दोलन जारी रहेका कारण विद्यार्थी भर्ना अभियान प्रभावित रहेका विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति, वडा जनप्रतिनिधिहरु लगायत स्थानीय समाजसेवी र बुद्धिजिवीले संयुक्त रुपमा भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसका साथै शिक्षक र सरकारबीच हुने वार्ताका आधारमा पठन पाठनका बारेमा थप निर्णय पछि गर्ने पनि वडा अध्यक्ष अर्यालले जानकारी दिनुभयो । वडा अध्यक्ष अर्यालले वडाका विद्यालयमा भर्ना अभियान सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस