महेश बस्नेत
घाेराही, १९ बैशाख । क्लबका पदाधिकारी तथा सदस्यहरुका लागि एकदिने समूह व्यवस्थापन तालिम शुक्रबार घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सम्पन्न भएकाे छ ।

ज्ञानमाला एकेडेमीको आयाेजनामा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा गठित विभिन्न क्लबहरुका पदाधिकारी तथा सदस्यहरुलाई उक्त तालिम सञ्चालन गरिएकाे थियाे । विद्यालयमा गठित सिर्जनशील बाल क्लबका अध्यक्ष स्मारिका चाैधरीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका राेजगार संयाेजक किरण गाैतमकाे प्रमुख आतिथ्यतामा तालिम सञ्चालन गरिएकाे थियाे ।
तालिमकाे उद्घाटन सत्रमा बाेल्ने वक्ताहरुले तालिमबाट विद्यार्थीहरुमा आफ्ना क्लब तथा समुहहरुकाे व्यवस्थापकीय क्षमताकाे विकास हुने बताएका थिए । विद्यार्थीहरु सामाजिक गतिविधिमा समेत संलग्न रहने भएकाले सामाजिक संघसंस्था र समुदायलाई व्यवस्थित गराउन तालिमले सहयाेग पुर्याउनेमा वक्ताहरुले अपेक्षा व्यक्त गरेका थिए ।
तालिमका प्रमुख प्रशिक्षक घाेराही उपमहानगरपालिकाका राेजगार संयाेजक किरण गाैतमले प्रभावकारी समूह व्यवस्थापनका प्रकृति, उपाय, महत्वलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियाे ।
तालिमका अर्का प्रशिक्षक त्रिभुवननगर जेसीजका निवर्तमान कार्यकारिणी उपाध्यक्ष प्रेमलाल न्याैपानेले समूह व्यवस्थापनका परिचय र आवश्यकताका विषय प्रशिक्षण दिनुभएको थियाे ।
सिर्जनशील बाल क्लबका सहसचिव शान्ति नेपालीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे तालिममा विद्यालयका प्रिन्सिपल महेश बस्नेत, कार्यक्रम संयाेजक बिमला केसी, विद्यार्थीहरु प्रनित रिजाल, श्रृया पुनलगायतले आ-आफ्ना धारणा राख्नुभएको थियाे । तालिमकाे सहजीकरण बाल क्लबका सचिव अदिती केसीले गर्नुभएकाे थियाे ।










