महेश बस्नेत
घाेराही, २३ वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा का नवनियुक्त प्रमुख घनश्याम ओलीलाई बधाई तथा स्वागत-सम्मान गरेकाे छ ।

गत १२ गते महाशाखा प्रमुख नारायण प्रसाद पाैडेल सेवा निवृत्त भएपछि रिक्त रहेकाे उक्त जिम्मेवारीमा घाेराही उपमहानगरपालिकाकाे कार्यपालिकाले ओलीलाई नियुक्त गरेकाे हाे ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षतामा भएकाे बधाई तथा स्वागत-सम्मान कार्यक्रममा बाेल्ने वक्ताहरुले महाशाखा र प्याब्सन घाेराही समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले प्याब्सन घाेराही र महाशाखा बीचकाे सम्बन्ध विगतकाे भन्दा थप प्रगाढ हुनुपर्ने बताउनुभयाे । केन्द्रीय सदस्य अधिकारीले निजी विद्यालयलाई पनि सामुदायिक विद्यालयकै दृष्टिकोणले हेर्न र समान व्यबहार गर्न महाशाखालाई आग्रह गर्नुभयाे ।

कार्यक्रमका अर्का वक्ता प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापाले सहकार्यकाे माध्यमबाट निजी विद्यालयहरुका समस्या समाधान गर्न महाशाखालाई आग्रह गर्नुभयाे । शिक्षा समिति घाेराहीका सदस्य समेत रहनुभएका थापाले घाेराहीकाे समग्र शिक्षाकाे अवस्था स्तरीय र गुणस्तरीय बन्ने अपेक्षा सहित महाशाखा प्रमुख ओलीलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नवनियुक्त महाशाखा प्रमुख ओलीले शिक्षा क्षेत्रमा आफ्नाे लामाे अनुभव भएकै कारण शिक्षा क्षेत्रलाई गहनरुपमा बुझेकाे उल्लेख गर्नुभयाे । उहाँले घाेराहीकाे शैक्षिक गुणस्तर वृद्धिका लागि आफ्नाे भूमिकामा प्रतिबद्ध रहेकाे जिकिर गर्नुभयाे । विद्यालयहरुकाे तह वृद्धिमा रहेका कतिपय व्यवधानहरुलाई आफ्नै पहलमा संशोधन गरि सहजता प्रदान गरेकाे उल्लेख गर्दै ओलीले दुवै किसिमका विद्यालयलाई समेटेर शैक्षिक गुणस्तरीयता कायम गर्नेमा जाेड दिनुभयाे ।
उक्त अवसरमा छैठौं तहबाट साताैं तहमा बढुवा हुनुभएका शाखा अधिकृत अजय बाेहरालाई पनि बधाई तथा सम्मान गरिएकाे थियाे । कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दलगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।












