विमल याेगी
दाङ, २८ बैशाख । दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित पाणडवेश्वर महादेव मन्दिरकाे जिर्णाेद्वार गरिने भएकाे छ ।

‘सनातन धर्म हाम्रो सान, मन्दिर जिर्णाेद्वार हाम्राे अभियान’ भन्ने नारा सहित मन्दिरकाे मूल मन्दिर कलात्मक, पुरातात्त्विक महत्त्व झल्कने गरि जिर्णाेद्वार गर्न थालिएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभएको छ ।

शनिवार मन्दिरकाे गुरूकुल सभाहलमा सम्पन्न मन्दिर व्यवस्थापन समितिकाे १७ ओैं बार्षिक साधारणसभामा उहाँले सरकारी, गैरसरकारी तथा विभिन्न दाताहरूकाे सहयाेगमा मन्दिरकाे जिर्णाेद्वारसँगै मन्दिरकाे भाैतिक विकास गरिने जानकारी दिनुभएको थियाे । साे अवसरमा अध्यक्ष अधिकारीले घाेराही धारपानी पर्यटन मार्गमा दुवैतर्फ नाला सहित स्तरउन्नति, कुईरेपानी देखि धारापानीसम्म पूर्वाधार निर्माण, धारपानीदेखि देउखुरी उचानिम्वुसम्म सडक निर्माण, सुनकाेट मन्दिर अवलाेकन तथा पुजनका लागि सडक मार्ग निर्माण, मन्दिर परिसरमा गुफा निर्माण, गुरूकुल निर्माण कार्य पूरा गर्दै गाैशाला निर्माण, शिवसागरकाे बीच भागमा जेष्ठ नागरिकमैत्री पार्क निर्माण र खुल्ला विश्रामस्थल निर्माण गर्ने याेजना अगाडि सारेकाे बताउनुभयाे ।

समितिका सहसचिव निम बहादुर चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएको साधारणसभामा समितिका सचिव विष्णुराम आचार्यले मन्दिरकाे प्रगिति विवरण प्रस्तुत गर्दै हालसम्म मन्दिर परिसरमा विभिन्न सरकारी, गैरसरकारी, सामाजिक, धार्मिक संघसंस्था र दाताहरूकाे सहयाेगमा विभिन्न भाैतिक संरचना निर्माण भएकाे जानकारी दिदै आगामी दिनमा मन्दिरकाे विकासका लागि गर्न सकिने याेजना प्रस्तुत गर्नुभएको थियाे ।समितिले आगामी कार्ययाेजनामा गुरूवागाउँ धारापानी जाेड्ने झाेलुङ्गे पुल निर्माण गर्ने, बबई नदिमा बाेटिङ, जीवलाईन तथा स्काई साईकिलिङ सञ्चालन, धार्मिक वन विस्तार तथा मन्दिर परिसरमा मृगस्थल निर्माण, स्थानिय साधनश्राेतकाे प्रयाेग गरि ध्यान कुटी निर्माण, सुनकाेट मन्दिरमा ३१ सय केजीकाे घण्ट निर्माण, बबईबाट लिफ्टिङ गरि सुनकाेट पानी पूर्याउने, सुनकाेटसम्म पदमार्ग निर्माण, मिनि चिडियाखाना लगायतका याेजना निर्माणका लागि लक्ष्य राखेकाे सचिव आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा काेषाध्यक्ष बाेधिलाल शर्माले एक कराेड ११ लाख १५ हजार एक सय उनासी रूपैयाकाे आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियाे । जसमा आम्दानी तर्फ दानपेटिकाबाट ४० लाख ७४ हजार ६ सय बीस रूपैया, रसिदबाट तीन लाख आठ हजार ५७, महाशिवरात्री मेलाबाट सात लाख ७९ हजार ७८, महायज्ञ वाकदानबाट १ लाख तीन हजार, चामल बिक्रीबाट ५६ हजार आठ सय बीस, चिल्लर सटहीबाट २८ हजार आठ सय, वरपिपल राेपनबाट ४९ हजार पाँच, पुरूषाेत्तम महायज्ञबाट १० लाख ५६ हजार नाै सय पाँच, क्यामेरा राेयल्टिबाट ६५ हजार, टहरा भाडाबाट ६ लाख २६ हजार साठी, पार्किङ तथा पिकनिकबाट ६ लाख ७४ हजार पाच सय पाच, धर्मशालाबाट १४ हजार एक सय, पर्यटन कार्यालयबाट २८ लाख ४४ हजार नाै सय ७४, बैंक व्याजबाट १७ हजार नाै सय ९२ र अन्य शीर्षकबाट ७ हजार आठ सय ५० रूपैया गरि १ कराेड ६ लाख ९६ हजार सात सय ६६ रूपैया आम्दानी भएकाे काेषाध्यक्ष शर्माले जानकारी गराउनुभएकाे थियाे । उहाँका अनुसार खर्च विभिन्न शीर्षकमा एक कराेड ११ लाख १५ हजार एक सय ७९ रूपैया भएकाे र चार लाख १८ हजार चार सय १३ रूपैया बढि खर्च भएको जानकारी दिनुभएको थियाे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले नेपालमा पछिल्लो समयमा धार्मिक आस्था राखेर पूर्वाधार विकासले निकै फड्काे मारेकाे भन्दै धारपानी मन्दिरकाे विकास पनि तिव्ररूपमा हुँदै गएकाे बताउनुभयाे । उहाँले धारापानीलाई जिल्लाभित्र तथा छिमेकी जिल्लाका अन्य धार्मिक स्थलसँग जाेडेर पर्यटन सर्किटमा जाेड्न सकेमा यसकाे विकासमा थप टेवा पुग्ने धारणा राख्नुभयाे । साे अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष भीम प्रकाश खडका, सल्लाहकार श्रीधर शर्मा पाैडेल, समाजसेवी ऋषिराज जंगली, समितिका सल्लाहकार सुन्दर गाैतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

साधारणसभाकाे बन्द सत्रले अध्यक्ष, सचिव र काेषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन सुझाव सहित पारित गरेकाे छ । कार्यक्रमकाे सञ्चालन सचिव विष्णुराम आचार्यले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस