घाेराही, ३० वैशाख । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले शिक्षक तथा अभिभावकहरुकाे प्रथम भेला सम्पन्न गरेकाे छ । यसै वर्षदेखि सञ्चालनमा आएकाे शिक्षालयले भेलासहित प्रशिक्षणकाे कार्यक्रम समेत गरेकाे छ ।

शिक्षालयका अध्यक्ष गणेश घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे प्रमुख आतिथ्यतामा भेला हाेटेल पाैवामा शनिबार सम्पन्न भएकाे थियाे । भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि ओलीले बालबालिकालाई माेबाइलकाे लतबाट टाढा राख्न अभिभावकलाई सुझाउनुभयाे । उहाँले बालबालिकालाई प्रकृतिमा रमाउन अभिभावकले भूमिका खेल्नुपर्ने बताउनुभयाे । बिदाका दिनहरुमा बालबालिकालाई माेबाइल दिएर घरमा थुन्ने हाेइन, प्राकृतिक साैन्दर्य स्थलहरुमा घुमाउन ओलीले अभिभावकलाई आग्रह गर्नुभयाे ।
उक्त भेलाकी विशिष्ट अतिथि एवम् प्रशिक्षक कञ्चन गुरुङले विद्यार्थीहरुकाे सर्वाङ्गिन विकासका लागि विद्यालयकाे मात्र नभइ अभिभावककाे पनि महत्त्वपूर्ण भूमिका रहने बताउनुभयाे । उहाँले असल अभिभावकत्व र मल्टिपल इन्टेलिजेन्सका विषयमा शिक्षक र अभिभावकलाई प्रशिक्षण दिनुभएकाे थियाे ।

भेलाका अर्का वक्ता प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीका अध्यक्ष महेश बस्नेतले बालबालिकाहरुकाे भविष्यप्रति विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरु संवेदनशील हुनुपर्ने बताउनुभयाे । उहाँले विद्यालयकाे नाम अनुरुपकाे प्रतिफल निकाल्न विद्यालय परिवार कटिबद्ध भएर लाग्नेमा विश्वास व्यक्त गर्नुभयाे । प्याब्सन घाेराही नगर कमिटीका सदस्य समेत रहनुभएका बस्नेतले अभिभावककाे सपना, विद्यार्थीकाे भविष्य र विद्यालयकाे लक्ष्य पूरा गर्न सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयाे ।
विद्यालयका प्रिन्सिपल बिष्णु हमालले शैक्षिक विकासका लागि तालिम अपरिहार्य रहेकाे बताउँदै शिक्षक र अभिभावकहरुका लागि विद्यालयले तीन प्रतिशत लगानी तालिम तथा प्रशिक्षणमा खर्च गर्ने उल्लेख गर्नुभयाे । उहाँले तालिम र प्रशिक्षणबाट शिक्षक र अभिभावकहरुकाे क्षमता विकास गर्न सकिने भएकाले विद्यालयकाे लक्ष्य पूरा गर्न आफू यसतर्फ केन्द्रित रहेकाे उल्लेख गर्नुभयाे । उक्त अवसरमा प्रिन्सिपल हमालले अभिभावकहरुबाट उठेका जिज्ञासाहरुलाई समेत स्पस्ट पार्नुभएकाे थियाे ।

शिक्षालयकी शिक्षक सरिता घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा विद्यार्थीहरु कक्षा यूकेजीकी सुहाना क्षेत्री, कक्षा १ कि प्रतीक्षा कंवर र कक्षा २ की श्रीषा भट्टराईले पनि स्वागत प्रस्तुति दिनुभएको थियाे । उक्त अवसरमम अभिभावकहरु तिलकराम अधिकारी र रिमा कंवरले आफ्ना धारणा राख्नुभएको थियाे । उक्त भेलाकाे सहजीकरण शिक्षक सामना थापा मगरले गर्नुभएकाे थियाे ।











