तुलसीपुर, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजसंस्था नेपाली जनताको पक्षमा कहिल्यै नरहेको बताउनु भएको छ ।

४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसको अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले राजावादीहरूले गर्ने भनिएको आन्दोलन नेपाली जनताको विरुद्धमा रहेको टिप्पणी गर्नुभयो ।
महासचिव पोखरेलले राजावादीहरूले ‘गणतन्त्रले के दियो ?’ भन्ने बहानामा आगामी जेठ १५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको उल्लेख गर्दै सो आन्दोलन कुनै राजनीतिक दल वा व्यवस्थाका विरुद्ध नभई नेपाली जनताका विरुद्धको भएको स्पष्ट पार्नुभयो ।
‘त्यो आन्दोलन कुनै दल वा व्यवस्थाका विरुद्ध होइन, जनताका विरुद्ध हो’, उहाँले भन्नुभयो, ‘हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने भन्ने चुनौती पनि छ ।’
उहाँले राजसंस्थाले जनतालाई कहिल्यै नछोएको र सधैँ शोषणकै माध्यम बनेको उल्लेख गर्नुभयो । राजावादीहरूले निरंकुशताको जाँतोमुनी जनतालाई पिस्दै लामो समय शासन चलाएको बताउँदै उहाँले गणतन्त्र र जनताको सार्वभौम सत्तामाथि प्रहार भइरहेको टिप्पणी गर्नुभयो ।
स्मृति दिवसको अवसरमा युवाको विदेश पलायनसम्बन्धी विषय उठाउँदै महासचिव पोखरेलले विदेश गएर देश नबन्ने धारणा राख्नुभयो ।
उहाँले विदेशमा पसिना बगाएर होइन, आफ्नै देशमा पसिना बगाएर मात्र देश निर्माण सम्भव हुने बताउनुभयो । बाध्यताले विदेश जानुपरेको अवस्थामा पनि धेरैजसो युवा रहरले नै विदेशिने गरेको उहाँको भनाइ थियो ।
‘देश छोडेर देश निर्माणका कुरा गर्नेहरूको संख्या बढ्दो छ’, उहाँले भन्नुभयो, ‘युवाको विदेश पलायन रोक्न एमालेले नेतृत्व लिन्छ ।’











